बालकुमारी घटनाको प्रतिवेदन संसद्‌मा पेस गर्न एमालेको माग

282
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेका हुन्।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट हटाउनु पर्ने उनले बताए। सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।

“आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद भट्टराईले भने, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुपर्‍यो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ।”

साथै उनले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाए।