२०८१ लाई एमालेले संगठन शुद्धीकरण वर्ष बनाउने

70
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी २०८१ साललाई शुद्धीकरण र संगठन सुदृढीकरणको वर्ष बनाउने भएको छ। सांगठानिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलन अन्त्यका लागि एमालेले अभियान चलाउने भएको हो।

पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न केन्द्रीय कमिटीको मंगलबारदेखि शुरू भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेस गर्नेछन्। प्रस्तावमा पार्टीभित्र देखिएका समस्याहरू पहिचान गर्दै त्यसको समाधानका लागि केन्द्रीय सदस्यसँग पार्टी नेतृत्वले राय मागेको छ।

केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावमा वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपताको समस्या देखिएको उल्लेख छ। त्यस्तै, पार्टी कमिटीहरूलाई विधिसम्म सञ्चालन गर्नुपर्ने समस्या, पार्टी सदस्यता वितरण तथा सदस्यको गुणस्तर वृद्धि गर्ने समस्यासमेत उठान गरिएको छ।

पार्टी प्रवेश गराउने र प्रवेश गर्नेहरूको व्यवस्थापनमा समेत समस्या देखिएको एमालेको प्रतिवेदनमा उल्लेख छ । कमिटी प्रणालीलाई मजबुत बनाउने, संगठन परिचालन नियमसंगत गर्ने, जनतासँगको सम्बन्ध विस्तार गर्नेजस्ता विषयहरूमा केन्द्रीय सदस्यहरूको सुझाव मागिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको बैठक ३ दिन चल्नेछ। बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको ज्ञवालीले बताउनुभयो।

‘अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन पछि बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेन्डा रहनेछ छ’ –उहाँले भन्नुभयो।

एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ। यसै गरी, अन्य एजेन्डामा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव रहेको छ।