पाकिस्तानी चुनावको भारत–चीन सम्बन्धमा पराकम्पन



काठमाडौं ।

सन् २०२४ लाई विश्वकै चुनावी वर्ष मानिएको छ। ६० ओटा मुलुकहरू चुनावी प्रक्रियामा छन्। दक्षिण एसियामा मालदिप्स, वंगलदादेश पछि पाकिस्तानको चुनावी प्रक्रिया पनि सम्पन्न भएको छ।

सन् १९४७ देखि हालसम्म पाकिस्तानी सैनिकले शासन सत्ताको रसास्वादन लिँदै आएका छन्। चुनावी प्रक्रियालाई विश्लेषकहरूले कर्मकाण्डको रूपमा व्याख्या गरेका छन्। सरकारको अंकगणित जे भए पनि ज्यामिति सैनिकको हातमा नै हुन्छ।

पाकिस्तान सैनिकको राष्ट्रवादको भाष्य भारत विरोधी विचारमा आधारित छ। इतिहासमा पाकिस्तानले सन् १९४९, १९६५ र १९७१ मा भारतसँग युद्ध गरेको देखिन्छ।

सन् १९९९ को कारिगिलको भिडन्तलाई समेत युद्धकै संज्ञा दिन सकिन्छ। पाकिस्तान सैनिक सत्ता युद्धको राप र तापले गर्दा पाकिस्तानमा सर्वशक्तिमान भएको छ। भारतसँगको हरेक युद्धमा पराजय भए तापनि पाकिस्तानी सैनिक सत्ता बलियो हुँदै गएको छ।

प्रजातन्त्र कमजोर भएकोले गर्दा अर्थतन्त्र पनि शिथिलीकरणतर्फ उन्मुख भइरहेको छ । ३ सय बिलियन अमेरिकी डलरको आर्थिक आकार भएको अर्थतन्त्र पाकिस्तानले आफ्नो ७५ वर्षको इतिहासको कालखण्डमा २७ पटक अन्तर्राष्ट्रिय मुद्राकोषलाई गुहारेको छ।

पाकिस्तानको भौगोलिक बनोटले गर्दा यसको भूराजनीतिक महत्वलाई नजर अन्दाज गर्न सकिँदैन। सन् १९५६ ताका नै अमेरिकी एलाईको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानले आफूलाई बलियो बनाइसकेको थियो। भारतका पूर्व राजदूत गौतम बमवाँलेल पाकिस्तानी सैनिक शासनहरूलाई कूटनीतिको अब्बल खेलाडीको रूपमा विश्लेषण गर्नुभएको छ। भारत–चीन बीचको कटुताबाट लाभ लिन पाकिस्तान सदैव सफल भएको देखिन्छ ।

सन् १९५० ताका भारत–चीन बीच सघन सम्बन्ध थियो । ‘चिनी हिन्दी’ भाई (भाइको नारलाई माओ र नेहरूले ध्वनित गरेको इतिहासको कालखण्ड थियो।

सन् १९५४ र सन् १९५८ मा नेहरूले चीन–ताइवानबीच मध्यस्थता गर्नु र सन् १९५९ मा दलाई लामा भारत शरण लिनुजस्ता परिघटनाले गर्दा भारत–चीन सम्बन्ध चिसिन पुग्यो।

भारत–चीनको कटुतालाई धमिलो पानीको रूपमा प्रयोग गर्दा पाकिस्तानले सन् १९६० को दशक चीन पाकिस्तान सीमा विवादलाई समाधान गर्यो। सन् १९६२ को युद्धमा भारत चीनबाट पराजय हुने कालखण्डमा पाकिस्तानको सम्बन्ध चीन र अमेरिकासँग सघन थियो। अमेरिकाले पाकिस्तानलाई कुनै किसिमको सैन्य सहयोग चीनलाई नदिन दबाब दिएको थियो । ६० को दशकमा अमेरिका– चीनबीच दौत्य सम्बन्धसमेत थिएन।

चीन अमेरिकी पुँजी र प्रविधिबिना आधुनिकीकरण गर्ने अवस्थामा थिएन। अमेरिकासँग सघन सम्बन्ध नभएको खण्डमा चीन पश्चिमा बजारमा प्रवेश गर्ने अवस्थामा थिएन। अमेरिका र चीनको समदूरीलाई पाकिस्तानी सैनिक शासनले पूर्ण मापन गरेको थियो।

सत्तरीको दशकमा पाकिस्तानी सैनिक शासकको मध्यस्थताका कारण अमेरिका र चीन बीच सामरिक समझादारी भएको थियो। अर्थात् तत्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिनजरलाई पाकिस्तान सैनिकको विशेष विमानबाट पाकिस्तानबाट चीन लगिएको थियो । हेनरी किसिनजरको रणनीतिअनुरूप कालान्तरमा अमेरिकी राष्ट्रपति निम्सनको चीन भ्रमण भयो।

निक्सन र हेनरी किसिनजरको चीनको यात्रा चीनका लागि कोशेढुङ्गा सिद्ध भयो । अर्थात् चीन आर्थिक उदारवाद र खुला बजारको बाटोबाट अमेरिका युरोपको बजार पुग्दै अमेरिकी पुँजी र प्रविधिलाई दोहन गर्दै आज विश्वको दोस्रो अर्थतन्त्रको रूपमा स्थापित भएको छ।

पाकिस्तानसँगको सम्बन्धलाई अमेरिकाले विशेष महत्व दिएको देखिँदैन । पाकिस्तानका लागि चिनिया पुँजी र प्रविधिबाहेक अर्को विकल्प देखिँदैन। पाकिस्तानले चिनियाँ पुँजी र प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै सिपेक गुरुयोजना अगाडि बढाएको छ।

६५ विलियन अमेरिकी डलरको लगानीमा रहेको उक्त योजना चिनिया रेशम मार्ग (बी.आर.आई) अन्र्तगतको नै योजना हो। सीपेक गुरूयोजनालाई भारतले प्रतिवाद गरेको छ। विवादित भूमिबाट नै उक्त रोड जाने भएकोले गर्दा भारतलाई स्वीकार्य भएको छैन । सीपेक एक बृहत् पूर्वाधारको योजना हो।

रोड, रेलवे, बन्दरगाह र ऊर्जा क्षेत्रमा समेत यसको लगानी छ। तर, पाकिस्तानको उक्त योजना घरेलु राजनीतिक अधिक चर्चा भएको देखिन्छ। अर्थात् चिनियाँ लगानीको ब्याजदर उच्च हुनु र उक्त योजनाको अध्यक्षता सैनिक अधिकारीले गर्नुजस्ता परिघटनाले गर्दा पाकिस्तानी अर्थतन्त्र दिवालीयापनमा जानु भने विश्लषकहरूको आँकलन छ।

रोचक पक्ष के छ भने इतिहासको कालखण्डमा पाकिस्तान र भारत युद्धपटक पटक हुँदासमेत चीनले सैनिक हस्तक्षेप गरेको छैन। जानकारका अनुसार भारत चीनबीच सम्बन्धमा सुधार हुनेबित्तिकै चीनले पाकिस्तानलाई दबाबमा राख्दै भारतसँग सहज सम्बन्ध बनाउन कूटनीतिक प्रयास गर्दछ ।

सन् १९८८ मा भारतका प्रधानमन्त्री राजीव गान्धी चीन यात्रा गर्दा चिनियाँ राष्ट्रपतिसँग बडो सकारात्मक समझदारी भएको थियो। चीन र भारतबीच समझादारी भएको खण्डमा एसियाका अन्य मुलुकहरू समेत गरिबी र पछौटेपनबाट मुक्त हुने उनीहरूको ठहर थियो।

तदनुरूप देङले पाकिस्तानलाई भारतसँग व्यापारिक सम्बन्ध धनिभूत रूपले अगाडि बढाउन दबाब दिएका थिए। पाकिस्तान र भारतबीच व्यापारिक सम्बन्ध बढेको खण्डमा स्वस्फूर्त रूपमा पाकिस्तानमा महँगी कम हुन जान्छ । वर्तमान परिवेशमा भारत–चीन सम्बन्ध चिसिएको छ।

ग्लवान घाटीमा १७ हजार फिटमा ६० हजारभन्दा अधिक सैनिकहरू एक अर्काका विरोधमा तैनाथ भएका छन्। पाकिस्तानमा सैनिक सत्तालाई रिझाउन पाकिस्तानको भाबी सरकारले भारत विरोधी नारालाई ध्वनित गर्नेछ । यस परिवेशमा चीन, भारत, पाकिस्तानको त्रिकोणात्मक सम्बन्धले भूराजनीतिक अवस्थालाई प्रभावित गर्न सक्दछ।

प्रतिक्रिया दिनुहोस्