स्वतन्त्र रेडियो बचाऊ अभियान घोषणा


काठमाडौं ।

देशभरी संकटमा रहेका स्वतन्त्र रेडियोहरुको बचाऊका लागि स्वतन्त्र रेडियो बचाऊ अभियान सुरु भएको छ । १३औं विश्व रेडियो दिवस २०२४ को अवसर पारेर सबै सहकार्यको नयाँ स्वरुपमा काम गर्नेगरि बचाऊ अभियान सुरु भएको हो । स्वतन्त्र रेडियो सहकार्य (Coalition of Independent Radio (CIR) नेपाल गठन गरि त्यसको सस्थागत ब्यानरमा स्वतन्त्र रेडियो बचाऊ अभियान सुरु हुनेछ ।

काठमाडौंमा भएको सात प्रदेशका ३० वटा रेडियोको दुई दिने भेलाले तत्काल अभियान अगाडी बढाउन नेपाल एफएम नेटवर्कका कार्यकारी निर्देशक गोविन्द खड्काको संयोजगत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । रेडियोहरुले आर्थिक स्रोत, रेडियो सामग्री, बजार र उत्पादन (समाचार, कार्यक्रम र गतिविधी) बाँडफाँडमा साझारुपमा काम गर्ने घोषणा गरेका छन् । रेडियोका छाता संगठकहरु बाटो हराएका यात्रीजस्ता छन् भएको स्थानीय रेडियो बचाउन नीतिगत र व्यवस्थापकीय दुबै काममा नेतृत्वदायि भुमिका खेल्न नसकेकाले अभियान घोषणा गर्नु परेको संयोजक खड्काले बताए ।

‘रेडियोलाई बचाउन सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्था, छाता संगठन, सञ्जाल तथा विज्ञापन एजेन्सीहरुले काम गरिरहेका छन् तर स्रोत स्थानीय रेडियोमा पुग्न सकेको छैन’ खड्काले भने, ‘अब स्रोत बाँडफाँडमा समेत साझेदारी गर्नेगरि जनशक्ति र उत्पादन सामग्रीमा नयाँ तरिकाले काम हुनेछ ।’ स्वतन्त्र रेडियो बचाऊ अभियानमा आवद्ध हुन १ सय ६१ रेडियोले फारम भरेपनि अहिले १५ वटा रेडियोले अभियानका लागि हस्ताक्षर गरेका छन् । नेपाल एफएम (काठमाडौं), तिलोत्तमा एफएम (रुपन्देही), रेडियो कैलाली (कैलाली), रेडियो मन्त्र (झापा), स्काई एमएम (विराटनगर), मिक्स एफएम (नुवाकोट), झङ्कार एफएम (रामेछाप), कर्णाली आवाज (हुम्ला), रेडियो तीनजुरे (तेह्रथुम), रेडियो परिवर्तन (बाग्लुङ्ग), दुधौली एफएम (सिन्धुली), शुक्लगण्डकी एफएम (तनहुँ), धड्कन एफएम (सर्लाही), रेडियो मलङ्गजा (सर्लाही) र अपन एफएम (सप्तहरी) का प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

संघिय सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक अनुसार देशभरी अहिले करिव १३ सय रेडियोले इजाजत लिएको देखिन्छ । इजाजत लिएका सबै रेडियो सञ्चालनमा छैनन् र करिब ७ सय सञ्चालित रेडियोहरुमध्येपनि हाल एकसय हाराहारी रेडियोहरु बन्दछन् । बन्द भएका रेडियोको सूची सरकार, रेडियोका छातासँगठक कसैसँग पनि छैन ।

रेडियो बचाऊ अभियानको साझा घोषणा
१. वर्तमान अवस्थामा रेडियोमा देखिएको संकट समाधानका लागि स्वतन्त्र रेडियो सहकार्य (सीआरआई) नेपाल को नाममा रेडियो बचाऊ अभियान सञ्चालन गर्न,
२.CIR Nepal मा रेडियोहरु एउटै रेडियो अवधारणमा सामुहिक रुपमा काम गर्ने र CIR Nepal मार्फत उत्पादन तथा प्रशारण हुने कार्यक्रम, विज्ञापन, सूचनाको आर्थिक स्रोतलाई सामुहिक रुपमा वितरण गर्न,

३. सूचना प्रविधीको विकासलाई सम्वोधन गर्दै संसारमा बर्षौअघिदेखि कार्यान्वयनमा आएको डिजिटल रेडियो अवधारणामा काम गर्न,
४. रेडियोलाई केन्द्रमा राखेर खोज तथा अनुसन्धान, ज्ञान उत्पादन तथा व्यवस्थापन, इभेन्ट व्यवस्थापन, क्षमता विकास र स्थानीय सरकार सवलीकरणका लागि सञ्चार अभियान सञ्चालन गर्न, र

५. नेपाल सरकार विज्ञापन वोर्डले रेडियोमा पठाउने लोककल्याणकारी विज्ञापन वापत कट्टा गर्ने ३ प्रतिशत कमिशन खारेजीको पहल र नेतृत्व लिन ।
स्वतन्त्र रेडियो सहकार्य (CIR Nepal)को संयोजक र सचिवालय हालका लागि नेपाल एफएम काठमाडाैं रहनेछ ।