बंगुरमा देखियो अफ्रिकन स्वाइन फिवर



लमजुङ ।

बेंसीशहर नगरपालिकाले बंगुरजन्य पदार्थ ओसार–पसारमा प्रतिबन्ध लगाएको छ। गत आइतबारमात्र मध्यनेपाल नगरपालिका–४ मा बंगुरमा र्‍यापिड एन्टिजेन परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर देखिनुका साथै बंगुर मर्न थालेपछि बेंसीशहर नगरपालिकाले बंगुरजन्य पदार्थ ओसार–पसारमा प्रतिबन्ध लगाएको हो ।

गत वर्ष पनि बेंसीशहरमा अफ्रिकन स्वाइन फिबरका कारण धेरै बंगुर मरेका थिए। बेंसीशहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन्छी तथा मत्स्य विकास शाखाले एक सूचना जारी गर्दे बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसार नगर्न तथा नगराउन भनेको छ।

नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पशु चिकित्सक डा. सन्दीप विष्टले बंगुर फार्ममा जैविक सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्नुभएको छ।

उहाँले नियमित रूपमा फर्म वा खोर वरपर चुना, फिनेल वा भिर्कोन छर्न, रोगको लक्षण देखापरेमा बंगुरलाई बथानबाट छुट्याएर राख्न, बंगुर मरेमा राम्रोसँग खाड्ल खनेर गाढ्न र बंगुरमा समस्या देखिएमा नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।

यस रोगले छोटो समयमा नै महामारीको रूप लिनसक्ने भएकाले संक्रमित ठाउँबाट बंगुर तथा बंगुरजन्य पदार्थ ओसार–पसार नगर्न बेंसीशहर नगपालिकाले अनुरोध गरेको हो।

पशु चिकित्सक डा. विष्टका अनुसार उक्त रोग लागेका बंगुर तथा पाठापाठीमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पखला लाग्ने जस्ता लक्षणहरु देखिने गर्छ।

रोगी बंगुर वा पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यो रोग सजिलै सर्ने भएकाले जैविक सुरक्षाका विधिहरु अपनाउन पशु चिकित्सकहरुले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्