एमाले काठमाडौंको ‘युवा महोत्सव, २०८०’ को तयारी पूरा

0
Shares

काठमाडौं ।

नेकपा एमाले काठमाडौंले शनिबार टुँडिखेलमा ‘युवा महोत्सव, २०८०’ आयोजना गर्दै छ ।

‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन सो महोत्सव आयोजना गर्न लागिएको नेकपा एमाले काठमाडौंले जनाएको छ । महोत्सवबारे जानकारी दिन बिहीबार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवा पुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोग लगायतका विषयमा युवालाई सजग गराइने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रूपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापी रूपमा आयोजना गरिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न तथा राष्ट्रियता, एकता र स्वाधीनताको रक्षा गर्न युवाको अहम् भूमिका हुने बताए । महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल गरी साझा बुझाई बनाउने उनले जानकारी दिए । उनले महोत्सवको तयारी पूरा भएको पनि बताए ।