एकिकृत जाँच चौकी आयोजना छिटो र गुणस्तरीय बनाउन पूर्वअर्थमन्त्री पौडेलको सुझाव

0
Shares

बुटवल। 

भैरहवामा निर्माणाधीन एकिकृत जाँच चौकी (आईसीपी) जग्गा हस्तान्तरण भई काम सुरु भएको एक वर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवं २५ प्रतिशत आर्थिक प्रगति भएको छ ।

करिब १५ वर्ष अघि नै नेपाल तर्फ जग्गा अधिग्रहण गरिए पनि लामो आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाइ भइरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिम तर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुवै तर्फ आईसीपीको निर्माणले केही  तीव्रता पाएको हो ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएका आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए । आईसीपी निर्माण पछि धेरै प्रकारको भन्सार र ब्यपार प्रणालीलाई सहज बनाउने बताए । उनले आयोजना छिटो र गुणस्तरीय रुपमा अगाडी बढाउन सरोकारवाला निकाएलाई सुझाव दिए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको बताए । यद्दपी आयोजनालाई निर्माण सामाग्रीको केही समस्या आएको गुनासो आएकोले स्थानीय पालिकाहरुसंगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । यी मध्ये वीरगन्ज र विराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगन्जमा र भैरहवामा निर्माणाधीन अवस्थामा रहेको छ ।

सबै आईसीपीहरु भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो । यसर्थ भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउ ले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा निर्माणको काम पाएको हो । सम्झौता भएको २ वर्ष भित्र निर्माण काम सम्पन्न गरी नेपाली पक्षलाई बुझाउनु गरी सम्झौता भएको छ ।