राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन प्रस्तुत



काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।

राष्ट्रियसभामा निर्वाचित नामावलीलाई समेटिएर तयार गरिएको प्रतिवदेन प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेलसमक्ष बुझाउनुभएको हो।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभएको थियो।

नेता शेखर कोइरालाले निर्वाचनको पूर्वसन्ध्यामा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गर्नुभएको थियो। उक्त चियापानमा कांग्रेस नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरू पनि चियापानका लागि विराटनगरमा जुटेका थिए।

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले माघ ९ गतेदेखि मौन अवधि तोके पनि दलहरूले त्यसको पालना नगरेकोमा प्रमुख निर्वाचन आयुक्त थपलियाको गुनासो पोख्नुभएको हो।

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गर्नुभयो।

त्यसै गरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नुभएको थिएन।

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले कोशी प्रदेशमा मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्