गृहमन्त्रीलाई तीन दिने अल्टिमेटम

हातपात गर्ने प्रहरीलाई कारबाही नगरे सबै सेवा ठप्प पारिने चेतावनी



काठमाडौं ।

कर्मचारी सम्बद्ध पाँचवटा ट्रेड युनियनले आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतमाथि हातपात गर्ने कर्मचारीलाई ३ दिनभित्र निलम्बन नगरिए देशव्यापी आन्दोलन गरी सेवा प्रवाह ठप्प पार्ने चेतावनी दिएका छन्।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन तथा मधेशी कर्मचारी संगठनलगायतले गृहमन्त्री श्रेष्ठलाई त्यस्तो चेतावनी दिएका हुन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापन–पत्रमार्फत् जानकारी गराउँदछौँ’ –गृहमन्त्रीलाई दिएको ज्ञापन पत्रमा भनिएको छ।

कर्मचारी संगठनका अध्यक्षहरूले पछिल्लो समय प्रहरीलगायत विभिन्न पक्षबाट कर्मचारीको मनोबल कमजोर बनाउने गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका छन्।

घटनाबारे आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए। त्यसपछि अल्टिमेटम दिन उनीहरू गृहमन्त्रीकहाँ पुगेका थिए।

कर्मचारी संगठनका अध्यक्षहरूसँग गृहमन्त्री श्रेष्ठले आफूले पनि घटनालाई गम्भीरतापूर्वक लिएको र गल्ती गर्नेमाथि आवश्यक कारबाही हुने प्रतिवद्धता जनाउनुभएको थियो।

गृहमन्त्रीलाई तीन दिने अल्टिमेटम दिन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामी कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेसी कर्मचारी संघका अध्यक्ष विजयकुमार यादव गृहमन्त्रालय पुगेका थिए।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रहरीबाट अध्यागमन अधिकृत छायालाल मोक्तान निर्घात कुटिनुभएको थियो भने अध्यागमन कार्यालयका प्रमुख सहसचिव गोगनबहादुर हमालमाथिसमेत प्रहरीले हातपात गरेका थिए।

शुरूमा अधिकृत कुट्न पुगेको प्रहरी समूहले त्यसलगत्तै घट्नाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका सहसचिव हमालमाथि अध्यागमनकै सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल र प्रहरी निरीक्षक मधुसुदन विककै अगाडि प्रहरीका असई सञ्जय तामाङलगायतका प्रहरीका जवानले लात्ताले हानेर दुव्र्यवहार गरेका थिए।

कर्मचारी कुट्ने प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख अध्यागमन अधिकृत सहसचिव र अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाइएको बताउनुभयो।

नेपाल निजामती कर्मचारी युनियनमा अध्यक्ष गोपाल पोखरेलले गृहमन्त्री श्रेष्ठले कर्मचारी कुट्ने प्रहरीलाई जिम्मेवारीबाट मुक्त गरिएको बताउनुभएको जानकारी दिनुभयो।

गृहमन्त्रीले कुटपिटमा उत्रने प्रहरीलाई जिम्मेवारी खोसेर कारबाही शुरू गरिसकिएको बताउनुभएको थियो। गृहमन्त्रीले थप कारबाही छानबिन समितिको प्रतिवेदन आएपछि गरिने स्पष्ट पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्