सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्‍न

करिब १० हजारले गरे अवलोकन

0
Shares

काठमाडौँ

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न भएको छ । यही माघ ९ गतेदेखि जङ्गी अड्डा परिसरमा सञ्चालन भएको फोटो तथा युनिट विशेष प्रदर्शनी शनिबार सम्पन्न भएको हो।

सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहर, सैनिक पोसाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शनी गरिएको थियो ।

पाँच दिनसम्म संचालन भएको उक्त प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गरेको नेपाली सेनाले जनाएको छ।

उक्त प्रदर्शनीको यही माघ ९ गते प्रधान सेनापति श्री प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।

आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित सो प्रदर्शनीबाट अवलोकनकर्ताहरुलाई नेपाली सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी प्राप्त भएको विश्वास सेनाले लिएको छ।