काभ्रे।
दलित महिलासँग विवाह गरेर अछुतो भएको काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थलीका एक परिवारले पितृको श्राद्ध गर्न पाएनन् । स्वस्थानी पूर्णिमाको दिनमा पर्ने श्रीमानको तिथी गर्न अघिल्लो दिन एक छाक खाएर बसेका परिवारले ब्रम्हाण नआएकै कारण तिथी गर्न नपाएको बताए ।
दलित महिलासँग विवाह गरेकै कारण तिथीमा परेको श्राद्ध गर्न नगएको विषयमा बुझ्न खोज्दा ब्रम्हाण माधव न्यौपानेले फोन उठाएनन् । साबिक सिम्थली गाविस हाल भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थलीमा रामबहादुर भण्डारीको २०७७ माघ १५ गते निधन भयो । उनको श्रीमती ७२ बर्षिया गंगादेवी भण्डारी एकल महिला छिन् । दुई छोरा मध्ये धर्मध्वज भण्डारीले प्रेमपछि मागी विवाह गरेका थिए । २०७९ असार २२ गते धर्मध्वज भण्डारीले देवकी विश्वकर्मासँग विवाह गरे ।
देवकी २०६३ साल देखि सोही वडामा रहेको श्री बाल उन्नति आधारभूत विद्यालयमा शिक्षण पेसा गर्थिन । सुरुमा निजी श्रोतमा काम गरेकी देवकीले शिक्षकको लाइसेन्स हुँदै शिक्षक सेवा आयोगले लिएको परीक्षामा स्थायी रुपमा नाम निकाल्न सफल भइन् । धर्मध्वज गाडी चलाउँदै आएका थिए । गंगादेवी र रामबहादुरका दुई छोरा मध्ये जेठा थिए धर्मध्वज । कान्छो छोराको परिवार नै बनेपामा बस्दै आएका छन् । गाडी चलाउँदै आएका धर्मध्वज र देवकी बिच प्रेम सहितको मागी विवाह भए पछि उनीहरू आफ्नै पेसा गर्ने भन्ने योजनामा रहे ।
स्थायी शिक्षक भएपछि केही सहज भयो उनीहरूलाई । गाडी चलाउन छाडेर धर्मध्वज र देवकीले बाँकी रहेको समयमा २५ रोपनी जमिन भाडामा लिएर बाख्रा पालन सुरु गरे । यता गंगादेवी एक्लै बस्न थालिन । घरपरिवारको सल्लाहमा नै उनीहरू व्यवसायमा संलग्न भएका थिए । एकल महिला भएकाले केही असहज हुँदा छोरा बुहारी नै आउने गरेका थिए । अघिल्लो वर्षसम्म ब्रम्हाण माधवराज न्यौपानेले श्राद्ध गरिदिएका थिए । तिनपुस्ता देखि उनीहरूकै परिवारका सदस्यले तिथी सराद चलाउँदै आएको भए पनि यो पटक गंगादेवी विरामी भएर असोज महिनामा छोरा बुहारीले राखेको बाख्रा फार्ममा गएर केही दिन बसेर फर्किए पछि उनलाई अछुतको ब्यवहार हुन थाल्यो । छिमेकीहरु पनि पहिलाको जस्तो बोल्न छाडिदिए । भैँसी र केही बाख्रा पाल्दै आएकी गंगादेवीले अहिले दुईवटा बाख्रा मात्रै पाल्दै आएकी छिन् । ‘छिमेकीहरुको छि छि र दुर दुर त सहेकै थिएँ, श्रीमानको श्राद्ध पनि गर्न पाइन’–उनले भनिन् । छोराले दलित केटीसँग विवाह गरेकोमा भने गंगादेवी खुशी छिन् । भन्छिन् –‘खोलाको पानी सरह हो । सबै मान्छे समान छन् । तर, गाउँलेले दलितलाई छोएर आएको भनेर म त्यही बाटो हिँड्दा समेत दुबो समेत मर्छ भन्ठाने ।’ यस्तो छुवाछुत गर्न पाइन्छ ? उनले प्रश्न गरिन् ।
‘श्रीमानको तिथीको अघिल्लो दिन हिन्दु धर्म अनुसार म सहित दुई छोरा र बुहारीहरु एक छाक बस्यौँ’–श्रीमती गंगादेवी भण्डारीले भनिन–‘अघिल्लो वर्ष छोरा बुहारी अलग्गै बसेका थिए । छुवाछुत भएन । यो वर्ष तिमी छोरा बुहारीकोमा गएर अछुतो भयौँ । त्यो घरमा श्राद्ध गर्न मिल्दैन । म आउँदिन भन्दै दिनभर कुराए ।’ ब्रम्हाण माधवराज न्यौपानेले गंगादेवी भण्डारीलाई घर बाहेक अन्यत्र श्राद्ध गर्न आउन भनेका थिए । ‘मैले मेरो श्रीमान् यही घरमा वित्नु भयो । म बाँचुञ्जेल यही घरमा नै श्राद्ध गर्छु भनेर कतै नजाने भनें’–गंगादेवीले भनिन–‘ब्रम्हाण माधवराज न्यौपानेले मेरो छोरा धर्मध्वजले स्थानीय देवकी विश्वकर्मासँग विवाह गरेर मेरो परिवार अछुतो भयो भन्दै श्राद्ध गर्न आउन मानेनन् । सुरुमा फोनमा र पछि भेटेरै उनलाई हाम्रो घरमा तिथी छ भन्दै खबर गरेका थियौँ । तर आएनन् ।’
पूर्णिमाको दिन २०८० माघ ११ गते विहिबार श्राद्धका लागि दिनभर भोकै बसेर कु¥यौं, अघिल्लो दिन एक छाक खाएर बस्यौँ’–छोरा धर्मध्वजले भने–‘मैले देवकीसँग विवाह गरेका कारण ब्राम्हण माधवराज न्यौपाने घरमै आउन्न भने । ब्रम्हाण नआए पनि हामीले बुबालाई सम्झियौँ । ठाडो सिदा दियौं र साँझ परे पछि खाना खायौँ ।’
प्रतिक्रिया