सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

0
Shares

डडेल्धुरा। 

बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सार्वजनिक नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ नेपाली काँग्रेसका नारायण भट्ट र अन्यतर्फ नेपाली काङ्ग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन । प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख(उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए । प्रदेशसभातर्फ महिलातर्फकी उम्मेदवार चन्दले ४१ मत पाएका छन् भने स्थानीय तहतर्फ १२० मत पाएका छन्  । उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरेकी छन् ।

अपांगतातर्फ काँग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १२१ मत पाएका छन्  भने उनका  प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाएका छन् । अन्यतर्फ विजयी भएका नेपाली काँग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाएका छन्  भने स्थानीय तहतर्फ ११९ मत पाएका छन्  । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभा तर्फ १३ मत र स्थानीय तहतर्फ ५३ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट केही  भोट चोर्न खरेल सफल भएका छन् । खरेलले सत्तारुढ गठबन्धनको मत प्राप्त गरेपछि  गठबन्धनभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ । योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २१७३ र स्थानीय तहतर्फ २२८० गरेर ४४५३ कुल मतभार प्राप्त गरेकी छन् । एमालेकी घिमिरेले प्रदेशभाको ५८३ र स्थानीय तहतर्फ ९८८ गरेर १५७१ मतभार प्राप्त गरेकी छन् । अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २०६७ र स्थानीय तहतर्फको २२६१ गरेर ४३२८ मतभार पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका खरेलले प्रदेशसभातर्फ ६८९ र स्थानीय तहतर्फ १००७ गरेर १६९६ मतभार पाएका छन् ।

आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २१२० र स्थानीय तहतर्फ २२९९ गरी  ४४१९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५८३ र स्थानीय तहको ९८८ गरेर १५७१ मतभार प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएपछि गठबन्धनभित्र मतभेद बढेको छ । यस विषयमा छानबिन गरेर मत क्रस गर्नेलाई कारवाही हुनुपर्ने मतदाताहरु बताउँछन् ।