कालिञ्चोकमा दोस्रो पटक हिमपात



दोलखा ।

दोलखाको कालिञ्चोक क्षेत्रमा फेरि हिमपात भएको छ। यो वर्ष कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो।  यसअघि पहिलो पटक माघ २ गते हिमपात भएको थियो।

बुधबार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटलका स्टाफ राजन क्षेत्रीले बताए। उनका अनुसार बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको हो।

रातभरीको हिमपात पछि बिहीबार (आज) कालिन्चोक टापु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको छ। हिमपातपछि बिहीबार बिहानै देखि कालिञ्चोक पुग्ने पर्यटकको चाँप बढेको कुरी स्थित होटेल सुनपातीका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताए।

‘बुधबार रातभरी हिमपात भएपछि बिहीबार बिहानै देखी कालिञ्चोक जानको लागि पर्यटकहरूको फोन आइरहेको छ’ होटेल सञ्चालक ओलीले भने । शुक्रवार र शनिवार त्यसै पनि कालिन्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपात पछि यो सङ्ख्या थेगिनसक्नु हुने अनुमान होटेल व्यवसायीहरूको छ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिन्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाट मात्र हिमपात भएकोमा यो वर्ष माघमा नै २ पटक हिमपात भएको हो। गएराति भारी हिमपात भएको कारण कालिञ्चोकको कुरीसम्म गाडी पुग्न भने कठिन भएको स्थानीयले बताएका छन्।

पर्यटकहरूको लागि धेरै बोलेरो गाडीहरूले टाएरमा चेन राखेर कुरीसम्म पुर्‍याउने व्यवस्था गरेको होटेल सञ्चालक ओलीले बताए। कुरीबाट केबलकार चढेर कालिन्चोक टाँपुसम्म पुग्न सकिने भएकोले समस्या नहुने स्थानीय होटेल व्यवसायीहरू बताउँछन्।

कुरी बजार तथा आसपास आज बिहानैदेखी पर्यटकहरू हिउँ खेलेर रमाइलो गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्