सार्कलाई सक्रिय बनाउने सम्बन्धमा पाकिस्तान र श्रीलंकाका राजदूतबीच छलफल

0
Shares

काठमाडौं  । 

गत शनिबार असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औँ सम्मेलनको क्रममा युगान्डाको कम्पालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँगको भेटमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउने विषयमा कुरा गरेका थिए  ।

सार्कका अध्यक्ष राष्ट्रको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले सदस्य राष्ट्र श्रीलंकका प्रधानमन्त्रीसँग सार्कलाई सक्रिय बनाउने सम्बन्धमा सहयोगको अपेक्षा राख्नेका हुन् । यसै विषयमा नेपालमा रहेका श्रीलंकाली राजदूत र पाकिस्तानी राजदूतले पनि छलफल गरेका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासमा मंगलबार नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमी र नेपालका लागि श्रीलंकाका राजदूत रिटायर्ड एअर चीफ मार्सल एसके पथीरानाबीच सार्क संगठनलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

छलफलपछि पाकिस्तानी राजदूत हासमीले श्रीलंकासँग पाकिस्तान, नेपाल र श्रीलंकाबीचको त्रिपक्षीय सम्बन्धका विविध पक्षका साथै क्षेत्रीय विकासका लागि सार्कलाई सक्रिय तुल्याउने विषयमा छलफल भएको जानकारी दिए ।

उनले सार्कलाई सक्रिय तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि सहकार्य गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए। पछिल्लो पटक वि.सं. २०७१ को मंसीर १० र ११ मा सार्कको १८औँ शिखर सम्मेलन काठमाडौंमा भएको थियो ।

उक्त शिखर सम्मेलनले १९ औँ शिखर सम्मेलन वि.सं. २०७३ को कार्तिक २४ र २५ मा पाकिस्तानमा गर्ने निर्णय गरेको थियो । तर सम्मेलनको मितिभन्दा दुई महिनाअघि असोज २ मा भारतको उरीमा १९ जना भारतीय सेनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि सार्क सम्मेलन रोकिएको थियो । त्यसयता भारत र पाकिस्तानबिचको सम्बन्ध चिसिँदै गएकोले सार्कको भविष्य अन्यौल बन्दै गएको छ ।

यसैबिच सार्कका दुई महासचिव पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी सियाल र श्रीलंकाली कूटनीतिज्ञ एसला विराकुनको कार्यकाल विना सार्क सम्मेलन सकिएको छ ।