बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु



काठमाडौं ।

धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेका ती किशोरीका बुवाको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हो।

उनी सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बम्जनविरुद्ध उजुरी दिने किशोरीका बाबु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको उक्त ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीका बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन्।

ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

अनुयायीलाई बलात्कार गरेको र व्यक्ति बेपत्ता पारेको आरोप लागेर फरार रहेका बम्जनलाई गत पुस २५ गते मात्रै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो।

जिल्ला अदालत सर्लाहीको आदेशपछि उनी अहिले जलेश्वर कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्