एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

गत आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि २७ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी तालिका बनाएपछि हिजो सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो।

परीक्षा तालिकाअनुसार चैत १५ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। १६ गते नियमित तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ। १८ गते आइतबार अनिवार्य गणित, २० गते मंगलबार अनिवार्य विज्ञान तथा प्रविधिको परीक्षा हुनेछ।

सोही दिन संस्कृत/वेद विद्याश्रमतर्फ शुक्ल यजुर्वेद, सामवेद, ऋग्वेद, अथर्ववेद, नीतिशास्त्र, मदर्सातर्फ सिरत र इस्लामी, अनिवार्य विज्ञान तथा प्रविधि ग्रेडवृद्धितर्फको अनिवार्य विज्ञान, अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद (वेदविद्याश्रमतर्फ) को परीक्षा हुनेछ।

२१ गते बुधबार सामाजिक र प्राविधिक धारतर्फ अनिवार्य सामाजिक अध्ययन संस्कृत÷वेदविद्याश्रमतर्फ संस्कृत भाषा तथा व्याकरण ग्रेडवृद्धितर्फ एम फार्म मेनेजमेन्ट एन्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेरिङ एन्ड मेन्टिनेन्स विषयको परीक्षा हुनेछ।

२२ गते बिहीबार साधारण तथा संस्कृत वेदविद्याश्रमतर्फ ऐच्छिक प्रथम पत्रका सबै विषयहरू र २३ गते शुक्रबार साधारण तथा संस्कृत/वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सवै विषयको परीक्षा हुने तालिकामा उल्लेख छ। पनिकाले २४ गते शनिबार पनि परीक्षा राखेको छ।

त्यसै गरी चैत २५, २६ र २७ गतेसम्म प्राविधिक धार र ग्रेडवृद्धिको परीक्षा हुनेछ। पनिकाले जारी गरेको सूचनामा ७५ पूर्णाङ्कको परीक्षाका लागि ३ र ५० पूर्णाङ्कको लागि २ घण्टाको समय तय गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साता परीक्षा शुरू गर्ने तय भए पनि यो वर्ष करिब एकसाता ढिलो गरी सञ्चालन हुन लागेको हो। होलीको कारण केही दिन ढिलाइ भएको पनिकाले जनाएको छ।

यस वर्षको परीक्षा नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ। अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ।

३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् (एनजी)उल्लेख हुनेछ। गत वर्षको परीक्षामा यो व्यवस्था थिएन। गत वर्ष ई ग्रेड ल्याउनेले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने र जतिसुकै विषयमा जुनसुकै ग्रेड ल्याए पनि पुनः परीक्षा दिन पाइने व्यवस्था थियो।

यो वर्ष दुई विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था छ। बोर्डका अध्यक्ष शर्माले नयाँ पाठ्यक्रममा आधारित परीक्षा हुने भएकोले ग्रेडिङ प्रणाली पनि फरक भएको जिकिर गर्दै भन्नुभयो– ‘लिखितमा ३५ प्रतिशत अंक अर्थात् २७ नम्बर, प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्छ।’

बोर्डले परीक्षाको प्रश्नपत्र निर्माण र परीक्षाफल प्रकाशित गर्नेछ। प्रदेश मन्त्रालयको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा हुने परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा सञ्चालन गर्नेछ।

बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा सञ्चालन, प्रश्नपत्र परीक्षण र संपरीक्षण लगातय सम्पूर्ण कार्य प्रदेशले गर्नेछ।

अध्यक्ष शर्माले भन्नुभयो– ‘प्रदेश परीक्षा समितिलाई प्राप्तांक प्रविष्ट गर्नसम्मको व्यवस्था गरेका छौं । यदि, प्रदेशले नसके बोर्डबाटै गर्नेगरी पनि व्यवस्था गरेका छौं ।’

विगतजस्तै यो वर्षको परीक्षामा प्रदेशअनुसार फरक फरक प्रश्नपत्र हुनेछन्। बोर्डले माघ अन्तिम साता वा फागुन पहिलो साताबाट प्रश्नपत्र छपाइ गर्ने तयारी गरेको छ।

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुनेछन्। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले यो वर्ष कोशी प्रदेशमा ३९ हजार, ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेसमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, वागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी हुने जानकारी दिनुभयो।

त्यसै गरी लुम्बिनीबाट ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा, कर्णाली प्रदेशबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा र सुदूपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र एवं २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्