पीपीए भएका ३६ सय मेगावाटका आयोजनामा बैंकले लगानी गरेनन्



काठमाडौं ।

विद्युतीय ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माणको तहमा काम गरिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) को २४औं वार्षिकोत्सवको उद्घाटन उहाँले सो कुरा बताउनुभएको हो। सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सोचिरहेको पनि उपप्रधानमन्त्रीले जानकारी दिनुभयो।

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले देशमा ऊर्जा उत्पादनको सम्भावना बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो।

अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने दाबी गर्दै ऊर्जा उद्यमीहरूले निर्धक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत रहेको भन्दै निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र निजी क्षेत्रको माग पूरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने बताउनुभयो।

पछिल्लो दशकमा ८ सयबाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको बताउनुभयो। मन्त्री बस्नेतले अबको ३/४ महिनामा निजी क्षेत्रबाट प्रवद्र्धन गरिएका करिब ५ सय मेगावाट थप विद्युत् प्रणालीमा जोडिने जानकारी दिनुभयो।

कार्यक्रममा ईप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको सम्झौताको स्वागत गर्नुभयो।

सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग दोहोर्‍याउनुभयो।

अध्यक्ष कार्कीले बाढी पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो। उहाँले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपियाँ लगानी लाग्ने स्मरण गराउँदै यसमा राष्ट्र बैंकलाई समेत ध्यान दिन आग्रह गर्नुभयो।

अहिले ३६ सय मेगावाट क्षमताका पीपीए भएका आयोजनामा बैंकले लगानी नगरेकोले यसको समाधानका लागि अध्यक्ष कार्कीले सबै पक्षको ध्यानाकर्षण गराउनुभयो।

कार्कीले ट्रान्समिसन लाइन नहुने हो भने विद्युत् धेरै खेर जाने र त्यो अवस्था ऊर्जा उद्यमीले सहन नसक्ने भन्दै गत आवमा २/३ सय मेगावाट विद्युत् खेर गएको बताउनुभयो ।

अपि पावरलगायतलाई ईप्पान सम्मान
कार्यक्रममा ऊर्जा क्षेत्रमा योगदान दिनेलाई ईप्पान विशेष सम्मान गरिएको छ। ‘ईप्पान डे’को अवसरमा ईप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारी रहेका छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण गरेवापत अपि पावर कम्पनी तथा १ मेगावाटभन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजना निर्माण गर्ने नेशनल हाइड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ।

कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। त्यस्तै नेशनल हाइड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्षकुमार पाण्डेलाई सम्मान गरेको छ।

कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत् आयोजनालाई सम्मान गरिएको छ।

निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनामा पहिलोपटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बिमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबीइन्स्योरेन्स) लाई पनि सम्मान गरिएको छ।

त्यस्तै, वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्