‘संघीयताको विकल्प छैन : वसन्तकुमार नेम्वाङ

0
Shares

काठमाडौं ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले नेम्वाङले अहिले देशमा संघीयताको कुनै विकल्प नभएको बताउनु भएको छ ।

इलाममा आयोजित माघे सङ्क्रान्ति सत्यहाङमा मकर सेवा समारोहको प्रमुख अतिथि रहेका नेम्वाङले संघीयतालाई बलियो बनाउन सबै मिलेर लाग्नु पर्ने बताए । ‘संघीयताको विकल्प छैन अहिले, अहिले मुलुकमा यसको विकल्प खोज्नु हुँदैन, पाइँदैन, त्यसलाई हामीले ठिक ढङ्गले प्रयोग गर्नुपर्छ, त्यसले ठिक ठाउँमा पुर्‍याउँछ’, उनले भने ।

के सत्ता पक्ष, के प्रतिपक्ष आजको राष्ट्रको आवश्यकता देशका सम्पदाको जगेर्ना र विकास रहेको उनले बताए । ‘सबैजना एक जुट, एक स्वर हुनुपर्छ, सबै जना लाग्नु पर्छ, अनि मात्र हामीले मुलुकको आवश्यकता पूरा गर्न सक्छौँ’, उनले भने ।

बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकता बिचको एकता नै नेपालको मौलिकता रहेको बताए । नेम्वाङले यो नेपालको पहिचान भएको बताउँदै यी सबै नेपाली मौलिक पहिचानको देन भएको प्रष्ट पारे । नेपाली समाजलाई एक बनाउन किरात धर्मगुरु–गुरुआमाले खेल्नु भएको भूमिका सराहनीय रहेको नेम्वाङले बताए ।

नेम्वाङले सबैलाई संयमता, हार्दिकता, एकता, सद्भावलाई अझ बलियो बनाएर समग्र मुलुकको विकासका निम्ति टेवा पुर्‍याउन पनि आग्रह गरे । उनले सबैलाई धार्मिक तथा सांस्कृतिक विकास सँगै अन्य क्षेत्रको सर्वाङ्गीण विकासमा सशक्त भएर लाग्न आह्वान गरे ।

इलाममा सुवास नेम्वाङले देख्नु भएको सपना पूरा गर्न अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । सडक, पुल लगायतका पूर्वाधार निर्माणका काम सुरु भएका भए पनि ती काम पूरा गर्न बाँकी नै रहेको नेम्वाङले सुनाए ।

नेपाली बिचको हार्दिकतालाई अझ प्रगाढ बनाउन संवाद र छलफल चलाउनु पर्ने उनले बताए । संवाद र छलफलबाट मात्रै सबै समस्याको समाधान हुने उनले प्रष्ट पारे ।