इन्दोर सहरको फोहोर व्यवस्थापन अभ्यास, काठमाडौंमा सिकाइ हुन सक्छ : सुनिल लम्साल

फोहोर व्यवस्थापनको सामाजिक, आर्थिक, प्राविधिक पक्ष अध्ययन गर्दै विज्ञ समूह

0
Shares

काठमाडौँ ।

घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारतको इन्दोरबाट विज्ञ समूह काठमाडौँ आएको छ ।

८ वर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । त्यस नगरले गरेका काम काठमाडौँसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेकाे महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्साल  बताए  । ‘विज्ञको टोली १ महिना काठमाडौँमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गरेर ढाँचा शिफारिस गर्नेछन् ।’

अध्ययनका लागि आज आएका इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहानले, सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताए । यसले फोहोर वर्गीकरणमा सघाउ पुग्ने बताए ।

काठमाडौँ महानगरपालिकाले अहिले फोहोर संकलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गरिरहेको छ । वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ । यस्तै राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाइ महानगरपालिकाका कर्मचारीले गर्ने गरेको छन् ।

यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पु¥याउने गरेको छ । अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पु¥याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङ्का पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।