राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धनभित्र खटपट

गठबन्धनको बैठकमा बोलाइएन जनमतलाई



काठमाडौं ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धनभित्र खटपट देखिएको छ। गठबन्धनको एक घटक जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो दललाई बेवास्ता गरेको भन्दै उम्मेदवारी दिएपछि गठबन्धनको बैठकमा उक्त दललाई नबोलाएसँगै खटपट सार्वजनिक भएको हो।

आइतबार बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टीलाई बैठकमा सहभागी गराएनन्।

सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको नामावली सार्वजनिक गर्न बसेको उक्त बैठकमा ती उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै शीर्ष नेताहरूले सामूहिक हस्ताक्षर गरेका थिए।

बैठकपछि जारी अपिलमा भनिएको छ– ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुँदैछ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रिय सभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन्। यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो।’

तर, राष्ट्रियसभा निर्वाचनमा जनमत पार्टीले भने सत्ता गठबन्धनसँग सहकार्य गरेको छैन। उसले मधेस र लुम्बिनीमा १/१ जना उम्मेदवार उठाएको छ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आइतबार गठबन्धनको बैठकमा आफ्नो पार्टीलाई नबोलाइएको पुष्टि गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘किन बोलाइएन, उहाँहरूलाई नै थाहा होला । जानकारी नभएपछि जाने कुरा पनि भएन ।’

जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट आफ्नो दलले पनि १ सिट पाउनुपर्ने माग गरेको थियो। तर, कुल १९ सिटमध्ये कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिट लिने गरी भागबण्डा गरेपछि जनमतले २ उम्मेदवार खडा गरेको हो।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात दलले साझा अपील गरेको छ।

नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि राजनीतिक गठबन्धन निर्माण गरेको दाबी गर्दै अपिलमा भनिएको छ– ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिवद्ध छौं र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं।’

स्थिरता र स्थायित्व बिना मुलुकको विकास र समृद्धि सम्भव नहुने भएकाले राजनीतिक स्थायीत्वकै लागि गठबन्धन बनाइएको र यसलाई अझ बलियो बनाउनुपर्ने पूर्व अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले मुलुकको अवस्थामा राजनीतिक स्थितरता र व्यवस्थाको रक्षाका लागि गठबन्धन आवश्यक छ। गठबन्धमा रहेका दलका साथीहरूले यो विषयलाई गम्भीरताका साथ लिनुपर्छ। अहिले कसले के पायो पाएन भन्ने विषय होइन। त्यसकारणले अहिले गठबन्धनका उम्मेदवारहलाई जिताउनुको विकल्प छैन।’

गठबन्धनभित्र पनि साना दलहरूलाई पेलेर लाने प्रवृत्ति हाबी भएको भन्दै जनमतका पार्टी अध्यक्ष सिके राउतले पटक–पटक असन्तुष्टि सार्वजनिक गर्दै आउनुभएको छ।

गत २१ गते गठबन्धका शीर्ष नेताहरूको बैठकले सिट भागबण्डा गर्दा आफ्नो दललाई खोजी नगरेको उहाँको दाबी छ। भागबण्डामा आफ्नो पार्टी नपरेपछि डा. राउत बैठक छाडेर निस्कनुभएको थियो।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसद्को पदावधि सकिँदैछ। खाली हुने २० सिटमध्ये १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ। जसमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका उम्मेदवार गठबन्धनमार्फत् निर्वाचित हुँदैछन्।

राष्ट्रिय सभाको एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुनेछ। राष्ट्रपतिले मनोनीत गर्ने उक्त एक पदमा राष्ट्रिय जनमोर्चाले पार्टी उपाध्यक्षसमेत रहेकी दुर्गा पौडेललाई मनोनीत गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्