आफताब आलमको मुद्दामा आजदेखि सुनुवाइ हुँदै

0
Shares

काठमाडौं ।

जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइका लागि आज (आइतबार)लाई पेसी तोकेको छ।

अदालतले कांग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको हो।

गएको मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन।

सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका लागि पेसी तारेख दिएको छ।

२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन्।

आलमको मुद्दामा आजदेखि सुनुवाइ हुने भएपछि आलम समर्थकहरू खुसी भएका छन्।  उनीहरूले आलम चाडै छुट्ने अनुमान लगाउँदै आएका छन्।