लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारण जोड्न मार्ग प्रशस्त

406
Shares

काठमाडौं।

लघु जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्रसारण जोड्न मार्ग प्रशस्त भएको सरोकारवालाहरूको जोड छ । नेपाल विद्युत् प्राधिकरणले नीतिगत जटिलताहरू हटाएर प्राविधिकरूपमा सम्भव भएका लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारण जोड्न थालेका कारण अन्य आयोजनालाई पनि बाटो खुलेको हो ।

प्राधिविकरूपमा सम्भव भएका २० किलोवाटभन्दा माथिका लघु जलविद्युत्सँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर राष्ट्रिय प्रसारण जोड्न सकिने तथा लघु जलविद्युत् आयोजनामा नेट मिटरिङको अवधारणा अनुसार पनि राष्ट्रिय प्रसारणमा जोड्न सकिने भएकाले लघु जलविद्युत्हरूलाई राष्ट्रिय प्रसारण जोड्न प्रक्रिया शुरू गर्नुपर्ने सम्बद्ध अधिकारीहरूको जोड छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको ३१औं वार्षिक साधारण सभाका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो विषयमा जोड दिएका हुन् ।

अहिले सीमित लघु जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारणमा जोडिएको हुँदा अन्य आयोजनाहरूलाई पनि जोड्नका निम्ति सम्भाव्यता अध्ययनका गर्न व्यवसायीहरूलाई आग्रह गरिएको थियो ।

दुर्गम ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच विस्तारका निम्ति स्थापना गरिएका लघु जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रसारणको विस्तारसँगै रुग्ण बन्दै गएका छन् । सरकार र जनताको समेत अर्बौ रुपियाँ लगानी भएका त्यस्ता परियोजनाहरूलाई व्यावसायिकरूपमा अगाडि बढाउनुपर्ने विज्ञहरू राय छ ।

अधिकांश नेपाली प्रविधि, सीप, श्रम र लगानीसमेत रहेका लघु जलविद्युत् आयोजनाको सामान्य स्तरोन्ती गरेमा राष्ट्रिय प्रसारणमा जोड्न सकिन्छ । जसबाट समुदायमा आर्थिक गतिविधि बढ्नका साथै राज्यको लगानी पनि उपयोग हुने विज्ञहरूको भनाइ छ ।

मधेस प्रदेशका जिल्लामा बाहेक अन्य जिल्लामा पेट्रिक सेटसहित ३ हजारभन्दा बढी लघु जलविद्युत् आयोजना रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांक छ । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार लघु जलविद्युत् आयोजना मात्रै २ हजारभन्दा बढी रहेका छन् । केही प्रविधिको स्तरोन्नती गरेको खण्डमा छोटो समयमै करिब २ सय वटा परियोजनाबाट २५-३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा योगदान दिन सकिन्छ ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला जलविद्युत् आयोजनालाई प्रदान गरिएकै दररेटमा लघु जलविद्युत् आयोेजनाको विद्युत् खरिद गर्ने प्राधिकरण नीतिगत व्यवस्था गरेको जानकारी दिए । पीपीए र नेट मिटरिङका माध्यमबाट लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारण जोड्न सकिने उनको भनाइ छ ।

लघु जलविद्युत्को प्राविधिक पक्ष, वर्तमान अवस्था र सम्भावित कार्यक्रमलगायतका विषयमा विज्ञहरू प्राडा रमेश कुमार मास्के, चैतन्य चौधरी, सुमन बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल, नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमालगायतले धारणा राखेका थिए ।

यसैबीच नेपाल लघु जलविद्युत् विकास संस्थाको ३१औं साधारण सभाले तेज नारायण ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बसन्तराज लामिछाने, महासचिवमा मानबहादुर शाही र कोषाध्यक्षमा विक्रम राज प्रधानलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सदस्यहरूमा शिव अधिकारी, राजन घिमिरे र धर्मराज भण्डारीलाई चयन गरेको छ । निर्वतमान अध्यक्ष श्रीराम अधिकारी पदेन सदस्य रहेका छन् । साधारण सभाको अवसरमा संस्थाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र संस्थाका पूर्वअध्यक्ष कृष्ण देवकोटालाई सम्मानसमेत गरेको थियो ।