सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन :  उपप्रधानमन्त्री खड्का



कैलाली ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन्।

आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति समेत रहेका खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे।

‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताकाबीच छलफल हुने नै छ’, उनले भने, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन। तर सरकारले मध्यम स्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन।’

उपप्रधानमन्त्री खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए। पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।

यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए। जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ। उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्