आहामा १२ टिमको सहभागिता



पोखरा ।

माघको दोस्रो सातादेखि हुने २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टिम सहभागि हुने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलकै प्रतिष्ठित प्रतियोगितामा दुई विदेशी, दुई मोफसका टिमसँगै ८ ‘ए’ डिभिजन क्लबको सहभागिता हुने भएको हो।

बिहीबार प्रतियोगिता बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले १२ टिमको सहभागिता रहेको जानकारी दिएका हुन्।

सहारा फुटबल एकेडेमी सञ्चालनका लागि आयोजना हुँदै आइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरू नेपाल पुलिस, मनाङ मस्र्याङदी, संकटा, त्रिभुवन आर्मी, मच्छिन्द्र, चर्च ब्वाइज, जावलाखेल युथ क्लब र थ्री स्टार रहेका छन्।

यस्तै, विदेशी टिममा इन्डियन सुपर लिग खेल्ने दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब रहेका छन्। मोफसलको टिममा आयोजक सहारा क्लब र नवलपुरको राइजिङ स्टार फुटबल क्लब रहेका छन्।

क्लबका अध्यक्ष रामजीप्रसाद अधिकारीले प्रतियोगिताको पुरस्कार २२ औं संस्करणकै रहेको बताए । उनले यो वर्ष पुरस्कार राशीमा वृद्धि नभएको सुनाए। साथै, अघिल्ला वर्षहरूमा मुल गेटमा दर्शकबाहेक रंगशालामा आउने अन्य खेलाडीदेखि खेलकर्मीहरूलाई परेको असरमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

हिमश्री फुड्सको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रयोजनमा हुने प्रतियोगिताबाट कुल एक करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र एक करोड ४९ लाख तीन हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा माघ ९ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्