भारतसँग ६ विकेटले हार्‍यो अफगानिस्तान

0
Shares

काठमाडौं ।

भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा शिभम दुवेले अविजित ६० रन बनाएका थिए भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए। त्यस्तै तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए।

अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो।

अफगानिस्तानका लागि मोहमद नाबीले ४२ रन बनाए भने अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए।

भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने शिभम दुवेले एक विकेट लिएका थिए। यो जितसँगै भारत ३ खेलको सिरिजमा १-० ले  अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।