कामपा मुख्यालयमा सीसीटिभी आतंक, कुरा गर्नै डराउँछन् विभागीय प्रमुख



काठमाडौं ।

काठमाडौं महानगरपालिकाभित्र सीसीटिभी आतंक फैलिएको छ। मेयर बालेन्द्र साहले सुशासन कायम गर्न भन्दै १५ विभागीय प्रमुखसहित २२ स्थानमा सीसीटिभीले निगरानी बढाउँदै अनावश्यक दुःख दिने नियत बढाएपछि कामपाको कमलादीस्थित मुख्यालयभर सीसीटिभी आतंक फैलिएको छ।

कामपाले सबै विभागीय प्रमुखको गतिविधि निगरानी गर्न सीसीटिभी जडान गरेपछि सीसीटिभीको कारण विभागीय प्रमुखहरू बोल्नसमेत डराउने गरेका छन् । मेयर साह र सचिवालयका सीमित व्यक्तिले कुन विभागीय प्रमुख र शाखामा को–को प्रवेश गरेका छन् भनी निगरानी गर्ने गरेका छन्।

आफ्नो टाउकैनजिक सीसीटिभी राखेर हैरान भएपछि अधिकांश विभागीय प्रमुखले आफूलाई भेट्न आएकासँग छलफल गर्ने छाडिसकेका छन्। विभागीय प्रमुखहरूले आफ्नो गोपनीयतासमेत भंग हुनसक्ने गरी विभागीय प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान गरेपछि काम गर्ने समस्या भएको बताउने गरेका छन्।

स्रोतका अनुसार मेयरले सेवाग्राही आउँदा दुःख नहोस् भन्ने अभिप्रायले प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान गरेको बताउने गरे पनि अनावश्यक दुःख दिन र स्पष्टीकरण सोध्नका लागि जडान गरेको हो।

कामपाले ३ महिनाअघि २२ वटा सीसीटिभी जडान गरेको छ। उक्त सीसीटिभीले सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्ने गरेको छ। ‘बोलेको समेत रेकर्ड राख्ने व्यवस्था गर्न लागिएको थियो, विरोध भएपछि बोलेकोबाहेक अन्य रेकर्ड राख्ने व्यवस्था छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

सो सीसीटिभीको रेकर्ड ३० दिनसम्म राख्ने व्यवस्था छ। सीसीटिभीमा देखिएको दृश्यको आधारमा सचिवालयबाट सोध्ने कामसमेत भएको स्रोतको भनाइ छ। कमपाले पारदर्शी र चुस्त सेवा प्रवाहका लागि सबै कर्मचारी र विभागीय प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान गरेको दाबी गरेको छ।

विभिन्न स्थानमा छरिएको महानगरको कार्यालयहरू एउटै भवनमा भएपछि सेवाग्राहीलाई चुस्त सेवा दिन सबै विभागीय प्रमुख सहित महाशाखा र शाखा प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान भएको हो।

मेयर सचिवालयले एउटै व्यक्ति एउटै कामका लागि दुःख पाउन नपरोस् र पारदर्शी सेवा सञ्चालन गर्न सहज हुन सकोस् भन्ने अभिप्रायले सीसीटिभी जडान गरेको जनाएको छ। कामपा प्रवक्ता नवीन मानन्धरले सेवा प्रवाहलाई पारदर्शी बनाउन सीसीटिभी जडान गरेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो– ‘प्रविधिको प्रयोग गर्न नसक्नेले विरोध गरेका हुन्, यसबाट कामपालाई कुनै असर पर्दैन। कामको सिलसिलामा अनियमितता हुन नदिन र सेवाग्राहीले दुःख पाउन नपरोस् भनेर सीसीटिभी विभागीय, महाशाखा र केही शाखा प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान गरेको हो।’

प्रविधिले विश्वलाई नयाँ दिशामा पुर्‍याइसकको अवस्थामा कार्यालयमा सीसीटिभी जडान गरेको विषयमा आतंक भन्नु गलत भएको उहाँको भनाइ थियो। सीसीटिभीको फुटेज हेरेर दुःख दिएको विषयमा आफूलाई जानकारी नभएको उहाँको भनाइ थियो।

महानगरले विभागीय प्रमुखको कार्यकक्षमा सीसीटिभी जडान गरेपछि महानगरको कामकारबाही प्रभावकारी भएको र सबै कर्मचारी समयमै कार्यालयमा आउन थालेको जनाएको छ। मेयर साह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतको र बैठक कक्षमा जडान गरेको छैन।

प्रवक्ता मानन्धरले अन्य बाँकी स्थानमा पनि जडान गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले सीसीटिभी जडान गरेर कसैको पनि गोपनीयता हनन नभएको स्पष्ट पार्नुभयो।

भन्नुभयो– ‘सीसीटिभीले काममा स्फूर्ति जागेको छ, थप व्यवस्थित भएको महसुस गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्