लामिछानेलाई ८ वर्ष जेल सजाय



काठमाडौं ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्षको जेल सजाय तोकेको छ। साथै काठमाडौं जिल्ला अदालतले लामिछानेले पीडितलाई जरिवाना र क्षतिपूर्ति गरी ५ लाख रकम दिनुपर्ने पनि सजाय तोकिएको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पौष १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो। बुधबार ढकालकै इजलासले लामिछानेलाई सजाय तोकेको हो। यो निर्णय बाबजुद लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको निर्णयविरुद्ध मुद्दा दर्ता गर्न पाउनेछन्।

त्यस दिन उनलाई दोषी ठहर गरे पनि लामिछानेलाई सजाय तोक्नका निम्ति भने पेसी तोकिएको थियो। अदालतका सूचना अधिकारीको अनुसार लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि भएको छ।

उनले तिर्नुपर्ने तीन लाख रुपैयाँ जरिवाना र थप क्षतिपूर्तिवापत दुई लाख रुपैयाँ गरी पीडितले कुल पाँच लाख रुपैयाँ पाउनुपर्ने हुन्छ।

लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेको थियो। पीडित किशोरीको उमेर “१८ वर्ष पूरा भएको” ठहर गरिएको थियो । पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको विभिन्न निकायबाट प्राप्त सरकारी कागजपत्रबाट देखिएको अदालतको ठहर छ । तर, उनको “नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको“ अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

उक्त मुद्दामा पौष ८ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको थियो र १३ गते फैसला भएको हो । पौष १३ गते लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि वादी पक्ष (परिवर्तित नाम) गौशाला २६ (छ) का वकिल र सरकारी वकिलले पनि जबाफी बहस सकेका थिए । त्यसपछि अदालतले फैसला गरेको थियो।

अदालतले फैसला सुनाउने क्रममा लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ । उक्त संहितामा लेखिएको छ —
१) कसैले जबरजस्ती गर्न हुँदैन।
२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करण गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।
३) उपदफामा ’करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय’ तोक्ने व्यवस्था छ।
३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने लेखिएको छ ।
सन्दीप लामिछानेको भारतको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएल यात्रा अहिले ’परीको कथा’ जस्तै बनेको छ ।

घटना भएदेखि सजायसम्म

२०७९ भदौं २१ गते पीडित भनिएकी एक किशारीले काठमाडौंको गौशाला प्रहरी कार्यालयमा उजुरी गर्छिन् । यो उजुरीसँग नेपाल मात्रै होइन, विदेशसम्म तरंग फैलिन्छ । किनभने, यो उजुरी क्रिकेटर सन्दीप लामिछानेमाथिको थियो । लामिछाने नेपालमा मात्रै होइन क्रिकेट खेल्ने हरेक देशमा लोकप्रिय रहेकोले पनि यो उजुरीमा सबैको चासो रह्यो ।

भदौ २३ गते लामिछानेलाई पक्राउ गर्ने पुर्जी निकालेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरियो । साथै, राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारीबाट पनि हटाइयो । उनको स्थानमा रोहित पौडेल हाल नेपाली राष्ट्रिय टोलीका कप्तान हुन् ।

असोज २० गते लामिछानेलाई विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमै पक्राउ गरियो। कात्तिक १४ गते उनको विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरियो । पौष २८ गते उनलाई पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्न आदेश दिएको थियो।

यसपछि फागृुन १६ गते सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति दिइयो । यसपछि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाएका थिए।

२०८० असार ११ गते पीडीत गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश आएको थियो। यहि पौष १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा लामिछानेले जबरजस्ती करणी गरेको ठहर, सजायका लागि पौष २५ गते पेसी तोक्ने निर्णय तोकियो । पौष २५ गते उनलाई ८ वर्षको जेल सजायको निर्णय गरिएको हो ।

लामिछानेको करियर

लामिछानेले विश्वको चर्चित फ्रेन्चाइजी लिग आईपीएलमा समेत खेलेका थिए। उनले २०१८ देखि २०२० सम्म आईपीएलमा दिल्ली क्यापिटल्सका लागि तीन सिजन खेलेर १३ विकेट लिएका थिए। उनी भारतमा हुने आईपीएलमा खेल्ने एक मात्र नेपाली क्रिकेटर हुन्।

यस्तै, उनले अस्ट्रेलियामा हुने बिग बाश, वेस्ट इन्डिजमा हुने क्यारिबियन प्रिमियर लिगमा समेत खेलेका थिए। जब आरोप लागेको थियो उनी क्यारिबियन प्रिमियर लिगमा खेलिरहेका थिए। उनले नेपालका लागि सेतो बलको खेलमा १ सय भन्दा बढी विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्