मार्तडी–कोल्टी सडकको हरिबिजोग, ठेकदार म्याद थप्छन् काम गर्दैनन्

0
Shares

 बाजुरा ।

मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की सडकको हरिबिजोग छ। बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे यात्रा गर्नु यहाँका यात्रुलाई सामान्य भएको छ।

सडकमा खाल्डाखुल्डी धएकाले जोखिमपूर्ण यातायात सञ्चालन गर्नुपरेको चालकहरु बताउँछन्। ‘बर्खा मौसममा गाडी धकेलेर लैजानुपर्छ। हिउँमा नाक मुख छोप्दै कुरुप भएर यात्रा गर्नु हाम्रो दैनिकी भएको छ।’ –विद्यार्थी नेता तपेश रावल भन्नुहुन्छ।

सडकको स्तरोन्नति नहुँदा जोखिमपूर्ण सामग्री बाटोमै फुटेर सकिन्छन्। मार्तडी कोल्टी सडक खण्डमा पर्ने लक्ष्मी माध्यमिक विद्यालय जिल्ली, कालिका प्राथमिक विद्यालय चुुथी, ज्ञानोदय मावि रजातोली, सरस्वती मावि ढम्कने, सत्यवादी मावि पाण्डुसैनलगायतका विद्यालयमा बर्खा मौसममा बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनायी हुने गरेको छ।

यात्रुसँगै विद्यार्थीको पढाइमा समेत बाधा पगेको स्थानीय रामबहादुर धामीको गुनासो छ। मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गतका तीनवटै प्याकेजको सम्झौता भएको पाँच वर्ष पुुग्न लगेको पूर्वाधार विकास कार्यालय अछामका इन्जिनियर देवीप्रसाद उपाध्याय बताउनुहुन्छ।

२०७५ सालदेखि शुरू गरिएका तीनवटै प्याकेज हालसम्म सम्पन्न भएका छैनन्। दुुई वर्षमा सम्पन्न गर्नुपर्ने उक्त सडक खण्डको काम चार वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा यात्रुुलाई समस्या भएको हो।

मार्तडी–चुुथी ९ किलोमिटर सडक पक्की गर्ने जिम्मा पहिलो प्याकेज धुलिखेल स्याम एन्ड शंकरलाई दिइएको छ । दोस्रो प्याकेज ९–१४ चुुथी–ढम्कने सम्मको पाँच किलो मिटर सडक खण्ड बानियाँ कुशेस्वर जेभी र तेस्रो १४–४० किलोमिटर पक्की सडक निर्माण गर्न पीएस बानिया जेभीसँग २०७६ साल कात्तिकमा सम्झौता भएको थियो । तर, हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

‘म्याद सकिन्छ, विभाग मन्त्रालयबाट म्याद थपेर ल्याउँछन् । तर पनि ठेकेदारले काम गर्दैनन् ।’ –इन्जिनियर उपाध्यायको भनाइ छ। पहिलो र तेस्रो प्याकेजको काम त सुुस्त गतिमा भइरहेको छ।

तर, दोस्रो प्याकेजको कम भने गत वर्षदेखि सम्पर्कमा नभएको उहाँको कथन छ। दुुई वर्षमा सकिने काम चार वर्ष बित्दा पनि सम्पन्न भएको छैन।

बडिमालिका नगरपालिका–७ को चुथीदेखी ढम्कनेसम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्पर्कविहीन छन्।

बानिया कुशेश्वर जेभी कम्पनीले जिम्मा लिएको सो सडकमा पहिलो चरणमा केही काम गरेको देखिन्छ। तर, तीन वर्षयता पटक–पटक पत्राचार गर्दा पनि सम्पर्कमा आएका छैनन्। उक्त सडक खण्डको काम असारमा सम्पन्न गर्नुपर्ने भए पनि सामान्य काम पनि हुन सकेको छैन।

‘ठेकेदार कम्पनीको म्याद असारमा सकिएको थियो, कोरोनाका कारण भनेर आउँदो असारसम्म म्याद थपेका छन्। त्यसपछि निर्वाचन भने त्यसपछि सम्पर्कमै छैनन्।’ –आयोजना कार्यालय साफेंबगरले भनेको छ– ‘असारसम्म ५ किलोमिटर कालोपत्रे गरिसक्नुपर्ने हो तर कोरोनाको कारणले १ वर्ष म्याद थपिएको छ।’

आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले पटक–पटक ताकेता गरेको भए पनि सो निर्माण कम्पनीले बेवास्ता गरेको पूर्वाधार कार्यालयको दाबी छ।

बाँनिया कुशेश्वर जेभी कम्पनीका ऋषि बाँनिया भने बाजुरकाकै यज्ञ शाहीलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको बताउनुहुन्छ। मार्तडी कोल्टी सडक खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको थियो।

यसैबीच मार्तडी कोल्टी सडक खण्ड बीचको आरसीसी ब्रिज निर्माण गरिने भएको छ। आईएस पावर कम्पनीसँग करिब १२ करोड रुपियाँको लागतमा १४ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालय अछामाका इन्जिनियर जोशीले जानकारी दिनुुभयो।