प्रेस चौतारीले गर्‍यो नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बुलाई सम्मान



काठमाडौं ।

प्रेस चौतारी नेपालले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवा लिम्बुलाई सम्मान गरेको छ। जनसङ्गठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै प्रेस चौतारी नेपालले लिम्बुलाई सम्मान गरेको हो।

नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासङ्घका अध्यक्ष लिम्बुलाई खादा लगाएर सम्मानित गरेका हुन्।

एमाले महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा महासङ्घले प्रेस चौतारी नेपाललाई सहयोग गरेकोमा सम्मान गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको सङ्कल्प यात्राका लागि उद्योग व्यवसाय महासङ्घले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो। महासङ्घले गरेको सो सहयोगको लागि चौतारीले सम्मान गरेको हो।

कार्यक्रममा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सबै जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले जनसङ्गठनको सहकार्यमा जोड दिँदै प्रचारको कामको संयोजन सङ्गठनले गर्ने बताए। यस्तै उद्योग व्यवसाय महासङ्घका अध्यक्ष साँवाले प्रेस चौतारीले प्रचारको काममा प्रशंसायोग्य काम गरेको बताए।

उनले चौतारीको सो कामबाट प्रभावित भएर आफूहरूले चौतारीको आग्रहअनुसार सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए। एमालेको सङ्कल्प यात्रामा प्रेस चौतारी नेपालले प्रचारको कामको संयोजन गरेको थियो।

प्रेस चौतारीले दार्चुलामा केन्द्रीय समितिको बैठक गरी यात्राको क्रममा समाचार सङ्कलनका लागि महासचिव हिरामान लामा, केन्द्रीय सदस्य द्वय यसिमा महत, सुमन ढुङ्गाना र भक्तपुर जिल्ला सचिव आशिष पौडेललाई फिल्डमा खटाएको थियो भने अध्यक्ष बस्नेतले समग्र प्रचारको संयोजन गरेका थिए।

प्रेस चौतारीले यात्रा सञ्चालन भएको ६ वटै प्रदेशमा समेत सङ्गठनका इन्चार्जको नेतृत्वमा छुट्टै टिम खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्