जेष्ठ नागरिकको डन्डीबियो, गट्टा र बाघचाल प्रतियोगिता

0
Shares

धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका- ९ पाल्पा भन्ज्याङमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकबिच बाघचाल, गट्टा र डन्डीबियो प्रतियोगिता गरिएको छ ।

परम्परागत खेलको प्रवर्द्धन गर्नका लागि युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको हो ।

गट्टा खेल प्रतियोगितातर्फ तारादेवी लम्साल प्रथम, फुलौरी श्रेष्ठ द्वितीय, कमलादेवी लम्साल तृतीय र जुनकिरी श्रेष्ठ सान्त्वना भएकी छिन् । बाघचाल खेलतर्फ राम्जी लम्साल प्रथम, गेरुनाथ लम्साल द्वितीय, कृष्णबहादुर दुवाडी तृतीय र चन्द्रबहादुर भट्टराई सान्त्वना भएका छन् ।

डन्डीबियो खेलतर्फ पाँच–पाँच जनाको दुई टिमबिच पाँच राउन्ड भएको खेलमा दुवलनारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको समूह प्रथम भएको छ । काले दमै, गोपालप्रसाद लम्साल, रुद्रबहादुर लम्साल, पूर्णबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको समूह द्वितीय भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठको प्रमुख निर्णायकको भूमिका रहेको यस प्रतियोगिताको विजयी खेलाडीहरू बाघचाल र गट्टा तर्फ प्रथम, द्वतिय, तृतीय र सान्त्वनालाई क्रमशः २५ सय, २ हजार, १५ सय र १ हजार, डन्डीबियो प्रथम हुने खेलाडीहरूलाई जनही २ हजार र द्वितीय हुने खेलाडीलाई जनही १२ सय नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।