इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ



काठमाडौं ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भइ फरार रहेका खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का १९ वर्षीय किरण राई पक्राउ परेका छन्।

उनलाई रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ गरिएको हो। एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्