खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला निर्यात

0
Shares

खोटाङ ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ८१० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार ७३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यस वर्ष सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए।

“जिल्लामा अहिले ७४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, उनले भने, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ। किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको संख्या पनि बढ्दै गएको छ।”

जन्तेढुंगा–६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी गरेका छन्।

“हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष एक करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उनले भने, “कसैले आफैँले बजारसम्म पुर्याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायत बजार पुर्याएर रु ६ लाखको बेचेँ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा–५ चिसापानीस्थित घोर्ले गाउँबाट एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन्। उक्त वडाको वाचिपाला, खुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ।

जन्तेढुंगा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए। जन्तेढुंगाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ।