बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ


काठमाडाैं ।

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका जमुनाह स्थित नेपाल भारत प्रवेशद्धारमा सशस्त्र प्रहरी बल, नेपालद्धारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको पुस २३ गते शुभारम्भ गरिएको छ ।

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको तत्वावधान र नेपालगंज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले
आयोजना गरेको थियो । कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ ।

झण्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए  ।

कार्यक्रममा बोल्दै नेपालगंज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरुमा नेपालगंज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सशस्त्र प्रहरी बल, नेपालले गरेका यस्ता कार्यहरु सराहनीय रहेको बताए  ।

त्यसैगरी बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले सीमा क्षेत्रमा सौन्दर्यीकरण गर्ने कार्यलाई अभियानको रुपमा क्रमशः अन्य जिल्लामा समेत संचालन गर्ने र सशस्त्र प्रहरी बल, नेपालले क्विक इम्प्याक्ट प्रोजेक्टको रुपमा सर्वसाधारणलाई तत्काल सेवा प्रदान गर्न खानेपानी लगायतका सेवाहरु उपलब्ध गराउने कार्यको शुरुआत समेत गरिएको बताए  ।