गठबन्धनका नेता जातीय सद्भाव भड्काउन पहिचान नामको आगो सल्काउँदै छन् : ईश्वर पोखरेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउन प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा योजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पोखरेलले एमालेले सामाजिक सद्भाव नखलबलियोस् र राष्ट्रिय एकता कमजोर नहोस् भनेर सधैँ सामाजिक सद्भावको पक्षमा काम गर्दै आएको स्मरण गराए । तर, वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको पोखरेलको भनाइ छ ।

‘गठबन्धनको नेतृत्व गर्नेहरू जातीय सद्भावलाई भड्काउनको लागि पहिचानको नाममा आगो सल्काउने काम गरिरहेका छन्, जसको हामी निन्दा र भर्त्सना गर्न चाहन्छौँ’, पोखरेले भने । कुनै पनि जाति सानो वा ठुलो नहुने र कसैलाई विभेद गर्न नहुने पोखरेलले बताए । तर, पहिचानको नाममा जातीय सद्भाव भड्काइन्छ भने नेकपा एमालेलाई सो कुरा मान्य नहुने उनले प्रष्ट पारे । एमाले सरकारमा नभएको मौका पारेर देशमा विग्रह ल्याउने प्रयत्न भइरहेको उनले बताए ।

पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बताए । हिजो सरकारमा हुँदा विदेशीले अतिक्रमण गरेको भूमि फिर्ता लिनुपर्छ भनेर सम्पूर्ण देश भरिका शक्तिलाई एक ठाउँमा उभ्याउने काम एमालेले गरेको उनले बताए । अहिले गठबन्धनका प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा त्यसको बारेमा बोल्न समेत नसकेको भन्दै उनले भने, ‘एक शब्द पनि बोल्दैनन्, हाम्रो मिचिएको भूमि फिर्ता लिनुपर्छ भनेर कूटनीतिक पहल र प्रयत्न पनि गर्दैनन्, त्यस्तो एउटा निर्लज्ज र कायर खालको भूमिका उनले खेलिरहेका छन् ।’

भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको पोखरेलले बताउनुभयो । यो राष्ट्र हित र राष्ट्रिय स्वाधीनता विपरीतको कार्य भएको उनले प्रष्ट पारे ।

‘कुनै पनि मुलुकको राजदूतावासले नेपाल भित्र आएर बजेट वितरण गर्ने र आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ, नेकपा एमाले त्यो सहमति, त्यो सम्झौताको विरोध गर्दछ, त्यस प्रति आफ्नो असहमति प्रकट गर्दछ’, पोखरेलले भने । एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । यसको लागि एमाले दृढतापूर्वक उभिने पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सुरक्षाका विभिन्न क्षेत्रलाई नेकपा एमालेले अघि बढाउने र विस्तार गर्ने उनले बताए । राज्यको तर्फबाट ती कुरा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । देशका धेरै संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने कुरामा एमालेको ध्यान रहेको उनले प्रष्ट पारे ।