एमालेलाई सत्ता गठबन्धनले भाग नदिने



काठमाडौं ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भाग नपाउने भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा ६ सिटको माग गरे पनि गठबन्धन दलहरुबीच एमालेलाई समेट्ने विषयमा असहमति दर्ज भएको छ।

शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धन बीचमै राष्ट्रिय सभाकोे सिट बाँडफाँट गर्ने निर्णय भएको नेपाली कांग्रेसका सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

बैठकका निर्णय सुनाउँदै लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो। यसपछिको बैठकले राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटका बारेमा टुंगो लगाउने निर्णय भएको छ। गठबन्धनकै बीचमा मात्रै सिटको बाँडफाँट हुने र एमालेले खोजेको ६ सिट दिन नसक्ने विषयमा गठबन्धनभित्रका साथीहरुले कुरा उठाउनुभयो।’

सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो दाबी पेस भएको उहाँको भनाइ छ। सत्ता गठबन्धनले सदाशयतापूर्वक एउटा बृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ कि भन्ने रहे पनि सम्भव नभएको लेखकको दाबी छ।

‘देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्ने कुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौं’ –उहाँले भन्नुभयो।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनुभएको छ।

मतका आधारमा राष्ट्रिय सभामा कांग्रेस १०, माओवादी ६, नेकपा एस २, जसपा १ र राष्ट्रपतिबाट मनोनीत १ गरी सिट संख्या मिलाउने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्