कामपा ३ कर्मचारी निलम्बन प्रकरण : २ कर्मचारीले यसरी गरेका थिए बदमासी

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले तीन कर्मचारीलाई निलम्बन गर्ने विषयको यथार्थ विवरण आफैंले तयार पारेको पाइएको छ।

असोज ३० गतेको कार्यपालिकाको बैठकको वडा नम्बर–१९ को स्वास्थ्य प्रवर्धन केन्द्रका कर्मचारीको निरन्तरतासम्बन्धी निर्णय प्रमाणित सम्बन्धमा भएको अनियमिताको यथार्थ विवरण तयारी गरी कारबाही अघि बढाउन प्रशासन विभागलाई अधिकारीले नै तोकआदेश लगाउनुभएको पाइएको छ।

अधिकृत अधिकारीले सो विवरण एक साताअघि अर्थात् पुस १३ गते तयार गर्नुभएको थियो। सो विवरणको आधारमा मेयर बालेन्द्र साहले तीन सदस्यीय छानबिन समिति गठन गरेपछि सहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत अधिकारी बिदामा बस्नुभएको हो।

७ बुँदे विवरणको पहिलो बुँदामा असोज ३० गते सम्पन्न कार्यपालिकाको बैठकमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका कर्मचारीको निरन्तरताका लागि कुल ५ जना कर्मचारीको नामसहितको व्यहोरा प्रमाणित भएको छ। तर पुस १३ गतेसम्ममा निजहरुको कसैको सम्झौता नभएको उल्लेख छ।

प्रशासकीय अधिकृत अधिकारीले स्वास्थ्य विभागबाट शुरुमा ५ जनाको नाम आएको तर सचिवालयबाट निर्णय प्रमाणित गर्ने क्रममा ५ जनामा १ जनाको नाम थप गरी निर्णय प्रमाणित भएको एवं अन्तिम कपीमा निर्णय सच्याई पुनः पेस गर्न भनिएपछि पुनः ५ जनाको नाम राखी पेस गरेको उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सो विवरण बुँदा नम्बर २ मा उल्लेख गर्नुभएको छ। बुँदा नं ३ मा सचिवालयको बैठक हेर्ने वरिष्ठ अधिकृत भगवती विडारी स्वयम्ले प्रमाणित गर्न ल्याउँदा आफ्नै छोरी सुभेक्षा ढुंगेलको नाम राखी निर्णय कपी पेस गरेको र मूल कपीबाहेक अन्यमा प्रमुख प्रशासकीय अधिकृतबाट दस्तखत भइसकेको कपी लगेको देखिन्छ।

आधिकारिक कपी मात्र निर्णयपुस्तिकामा टाँस गरी अन्य कपी च्यात्नु भन्ने प्रमुख प्रशासकीय अधिकृतको निर्देशनविपरीत भण्डारीले लापरबाही गरेको देखिएको उल्लेख छ।

कार्यालयको आधिकारिक निर्णय कपीमा ५ जनाको मात्र प्रमाणित भएकाले सचिवालयमा कार्यरत निजहरुको काममा उच्च सतर्कता मात्र गरिएको तर गलत निर्णय गरेको कपी नष्ट गर्न भनिए पनि वरिष्ठ अधिकृत बिडारीले सो कपी आफैंसँग राखेको फेला परेको छ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सबै विवरण र कारबाहीको सिफारिस भण्डारीको बयानको आधारमा गर्नुभएको हो। पत्रमा स्वास्थ्य विभागबाट कार्यपालिकामा प्रस्ताव पेस गर्दा सो सम्बन्धमा प्राप्त भएको प्रतिवेदन राखेर पेस भएको भनिए तापनि सो प्रस्तावमा ढुंगेलको नाम उल्लेख भएको देखिँदैन।

अधिकारीले पेस गर्नुभएको विवरणमा तत्काल बुझी हेर्दा सचिवालय प्रमुख नूरनिधि न्यौपानेसमेतले भगवती भण्डारीलाई निजको छोरीको नाम राख्न भनेको र स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई पनि सो नाम राख्न भनी निर्णयमा पेस गराएको बिडारीले दबाव दिएको उल्लेख छ।

सो विवरण तयार गर्न प्रशासकीय अधिकृत अधिकारीले वरिष्ठ अधिकृतसँग लिखित बयान लिएको पाइएको छ। अधिकारीले तयार गर्नुभएको ७ बुँदे विवरणमा टिप्पणी उठान हुँदा प्रतिवेदनमा जे उल्लेख छ सोही आधारमा भएको तर निर्णय गर्ने कपीमा मेयर सचिवालयबाट सचिवायल प्रमुख न्यौपाने र वरिष्ठ अधिकृत भण्डारीले प्रमुख प्रशासकीय अधिकृतलाई छल्न सकिन्छ कि ? भन्ने नियत राखेको देखिएको छ।

विवरणमा भनिएको छ– ‘प्रमुख प्रशासकीय अधिकृतको सचिवालयबाट पेस भएको निर्णय प्रमाणित कपीमा करेक्सन गर्नु र हस्ताक्षर भएको च्यात्नु भनेको कपी निज वरिष्ठ अधिकृत भण्डारीले नच्यातेको तर नियमअनुसार प्रमाणित गर्नु भन्ने कपी ल्याई प्रमाणित गरी रजिस्टरमा टाँस गरेको देखिन्छ । यसरी हेर्दा निज सचिवालय प्रमुख न्यौपाने र वरिष्ठ अधिकृत भण्डारीलाई कानुनअनुसार विभागीय कारबाही गर्नुपर्ने देखिन्छ ।’

घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन शहरी योजना आयोगका अध्यक्ष सुमनसिंह राजभण्डारीको संयोजकत्वमा प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल र कामपाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल सदस्य रहेको समिति गठन गरिएको छ।

समितिको प्रतिवेदन आएपछि सोही अनुसार कारबाही गर्ने जनाइएको छ। समितिले सबैसँग स्पष्टीकरण सोधेर सकभर चाँडै प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छानविन समितिको प्रतिवेदन तयार नभएसम्म केही दिनका लागि आफू बिदामा रहेको जानकारी दिनुभयो।

कामपाका मेयर बालेन्द्र साहले घटनाबारे जानकारी पाएलगत्तै छानबिन समिति गठन गर्नुभएको थियो। मंगलबार समिति गठन भएसँगै मेयर साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न आग्रह गर्नुभएको थियो।

उहाँले छानविनलाई सहयोग गर्न केही दिन बिदामा बसेको बताउनुभयो। उहाँले आफूले कहिल्यै गल्ती नगरेको दाबी गर्दै छानबिनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।