लमजुङका चार स्थानीय तहमा आलु खेती विस्तार गरिँदै

0
Shares

लमजुङ। 

कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका चार स्थानीय तहहरुमा आलु खेती विस्तार गर्ने भएको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा दुधपोखरी गाउँपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा खायन जातको आलु खेती विस्तार गर्न लागिएको हो ।

खयान आलु उत्पादन तथा व्यवसायिक खेतिका लागि चालु आर्थिक वर्षमा जिल्लाका चार स्थानीय तहहरु छनौट गरी कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जानकारी दिए । कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरुमा सम्बन्धित कृषकहरुलाई स्थलगत तालिम तथा प्रशिक्षण समेत भइरहेको कार्यालय प्रमुख खतिवडाको भनाई छ ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार आलु उत्पादनमा लमजुङ आत्मनिर्भर रहेको छ । गत वर्ष मात्रै पनि जिल्लामा २१ हजार आठसय ५९ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लाका विभिन्न स्थानीय तहहरुम गरी एकहजार नौ सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा सो मात्रामा उत्पादन भएको हो ।

कार्यालयका अनुसार जिल्लामा दुईसय एक हेक्टर क्षेत्रफलमा बर्षे आलु लगाउने गरिएको छ भने एकहजार सात सय ७४ हेक्टर जमिनमा हिउदे आलु लगाउने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याँक अनुसार गत वर्ष १९ हजार सात सय ८५ मेट्रिक टन हिउँदे आलु मात्रै उत्पादन भएको थियो भने दुई हजार ७४ मेट्रिक टन बर्षे आलु उत्पादन भएको थियो । कार्यालयका अनुसार जिल्लामा प्रति हेक्टर करिब १२ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले गण्डकी प्रदेश सरकारलेनै चालु आर्थिक वर्षदेखि खायन आलुको उत्पादन बढाउने गरी कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले लमजुङ सहित ठूलो मात्रामा आलुको उत्पादन हुने क्षेत्रमा यो कार्यक्रम लागू गरेको छ ।

कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराउने, सिँचाइ, सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्ने योजनाका साथ गण्डकी प्रदेशले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ । गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्रान्ड गर्ने र पहाडी जिल्लामा खायन आलुको प्रवर्द्धन गर्ने उद्देश्य राखेर यस वर्ष आलुलाई छुट्टै बजेट विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमका लागि जिल्लामा चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

Skip This