मैले अक्षर पढ्न–लेख्न कसरी सिकेँ ?



काठमाडौं ।

म जहाँ जन्मे–हुर्कें, त्यहाँ त्यसताका जीवन सुस्तरी हिँड्थ्यो। सुस्तरी नै बोल्थ्यो । रातदिन खटेर मेहनत गथ्र्यो। माटो–पानी उमाथ्र्यो, फुलाउँथ्यो, फलाउँथ्यो।

जे–जति फल्थ्यो, टिप्थ्यो, खान्थ्यो। पेट भरिए पनि, नभरिए पनि कुनै गुनासो नगरी जीवन सुस्त–सुस्त त्यही बाटो पटक–पटक दोहोर्‍याएर हिँड्थ्यो। ऋतु, महिना र दिनहरु सबै–सबैका परिचित रहन्थे।

बीउ–बीजन रोप्ने, गोड्ने, फुलाउने, फलाउने सबै सबै सिर्जनाका अध्यायहरु आ–आफ्ना समय लिएर मेहनती जीवनहरुसँगै हिँड्थे । हिमाल चुचुराहरु हरेक बिहान घामसँगै माझिएको सुनजस्तै उज्यालो मुस्कान छर्थे।

साँझ गुराँस फुलेको वनपाखाजस्तै राताम्मे देखिन्थे। झर्नाहरु भने खुर्मुरिँदै ओर्लेर पहाडका छाती–छाती हुँदै, दिव्य चाँदीको आभा छर्दै तलतिर दगुरिरहेका देखिन्थे।

तल खोलाहरु आ–आफ्ना रङ्गढङ्गमा हिँडिरहन्थे, हिँडिरहन्थे । साँझ हिमाल चुचुराहरु टाढा–टाढा क्षितिजमा लुक्थे । पहाडहरु आफ्ना काँधमा जे छ त्यही बोकेर चुपचाप उभिएरै निदाउँथे। म यो सबै कहिले आफ्नो घर बुइँगलको झ्यालनिर उभिएर हेर्थेँ। कहिले घरमाथि डाँडामा गएर हेर्थेँ, देख्थेँ।

बिहान आँगनमा घाम ओर्लँदा म पनि भर्‍याङ ओर्लेर आँगनमा निस्कन्थेँ। मलाई अनुहारमा शीत टल्काएर सुस्त–सुस्त हल्लिरहेका फूलहरु हेर्न मन पथ्र्यो । बुरुक–बुरुक उफ्रने मुने पाठाहरु हेर्न र तिनीहरुसँग खेल्न मन पथ्र्यो।

फुपू दिदीले बोलाएर पिँढीको गुन्द्रीमा बसाउँदै बिहानै मेरा कपाल कोरिबाटी गरिदिनुहुन्थ्यो। मेरा नाक हेर्न निधारमाथि मुन्टो निकालेर बसिरहने रातो धागो कपालसँग बाटिँदै मेरो पिठ्यूँमा पुगेपछि फुर्का बनेर झुल्थ्यो।

फुपू दिदीकै बलले मेरा दुवै कानका लोतीमा सुनका मुुन्द्रीहरु टल्किबसेका हुन्थे । म निधारमा सिउर ढल्काउँदै र तल दौराका फेर हल्लाउँदै रमाउँदै छिमेक घरका आँगन–आँगनमा दमाली साथी भेट्न पुग्थेँ । बाख्राका मुनेहरुसँग खेल्न पुग्थेँ । मेरा सबैभन्दा मिल्ने खेल्ने साथी मेरै पल्ला घर माहिला दाइ हुनुहुन्थ्यो । मेरा सबैभन्दा जेठा ठुल्बाका छोरा माहिला ।

म पाँच वर्ष लागेको मात्र हुँदो हूँ, एकदिन बिहान चाँडै नै उठाएर फुपू दिदीले नुहाइदिनुभयो। कपालमा हजुरबाले कतै रोटी कतै कसार झुन्ड्याइदिनुभयो । पण्डितबा, पुरेतबा, भनिजबाहरु कोही मन्त्र पढ्दै त कोही होम हाल्दै हुनुहुन्थ्यो।

उहाँहरुले मन्त्र पढ्न, होम गर्न एकछिन् रोकेर एकै स्वरमा शुभ लगन भो भन्नुभयो। सधैँ मेरो फुपू दिदीले बाटिदिने गरेको मेरो कपाल टाउकोका टुप्पोमा अलिकति बाँकी राखेर बाँकी सबै गैह्राघर भान्दाइले छुराले फसाफस खौरिदिनुभयो।

टाउको रित्तै बनाइदिनुभयो। खौरँदा दुख्यो। धेरै नै दुख्यो । चारैतिर उभिएकाहरु सकियो, सकियो अब दुख्दैन भन्दै हुनुहुन्थ्यो। तर पनि दुख्यो। खौरिसकेपछि दुखेन। यसरी कपाल खौरँदा मलाई बाले काखमा लिनुभएको थियो जस्तो लाग्छ। पछि थाहा पाएँ, यसरी जोडजुलुम गरेर पहिलोपटक कपाल खौरिनुको नाम ‘चूडा’ रहेछ।

लामो कालो कपालले रातो धागोमा कलात्मकरुपमा बाटिएको सिउर लिइबस्ने मेरो टाउकोमाथि अब त टोपी पो टक्रक्क बस्न आइपुग्यो। चूडाकै दिन ‘साइत छ !’ भन्दै हजुरबाले सरस्वतीको पूजा पाठ गरेर मलाई अक्षरारम्भ गराउनुभयो । त्यस दिन त साइत मात्र छोपिएको थियोे । भोलिपल्टबाट हजुरबाले लागिपरेर मलाई अक्षर चिनाउन थाल्नुभयो।

बा ज्योतिषी। घरमा सिकर्मीले बनाएका चिटिक्क परेका धुलौटे पाटीहरु दुईवटा थिए। त्यसताका धुलौटे पाटी पनि घरको ठुलै सम्पत्तिजस्तै मानिन्थ्यो। त्यसको माया लाग्थ्यो। धूलो माटो घरवरिपरि जताततै पाइन्थ्यो।

अझ हाम्रो घरबारीमा त निक्खरा रातो माटो नै पाइन्थ्यो । पाटीमा रातो माटोको धूलो मेसो मिलाउँदै सरक्क छरेर त्यसमाथि छेस्काले लेख्दा अङ्क–अक्षर स्पष्ट देखिन्थे। नमिलेको, नचाहिएको अङ्क–अक्षर औँलाहरुले सजिलै मेट्न र नयाँ लेख्न पनि सकिन्थ्यो।

यसरी धुलौटे पाटीमा छेस्काले लेखेर दुई महिनाजतिमा हजुरबाले मलाई सग्ला र तोडेमोडेका सबैै अक्षरहरुसँगै १ देखि १०० सम्मका अङ्कहरुसँग समेत राम्रो चिनाजानी गराउनुभयो। अब म ती अक्षर अङ्कहरु जहाँ देखे पनि चिन्न र भन्न सक्ने भएँ । धेरैै रमाइलो लाग्यो।

त्यसपछि मलाई हजुरबाले उहाँका पनि हजुरबाले लेख्नुभएको बोल्लान् जस्ता अक्षरका पत्रे पुस्तकमा दुर्गाकवच पढाउन थाल्नुभयो । पढ्दै गएँ। पढ्दै गएँ।

बाचाहिँ ‘पढेर मात्र हुँदैन, लेख्न पनि सिक्नुपर्छ, लेख्न त जान्नै पर्छ’ भन्नुहुन्थ्यो । लेख्नमा बढी जोड दिनुहुन्थ्यो। घरबाट मूल बाटोमा उक्लेर तेर्सो हिँड्दै गएपछि केहीबेरमा लच्याङ्गीको पसल पुगिन्थ्यो। त्यहाँ सुर्ती, चुरोट, तमाखु, पुष्टकारी, बाटेको धूप, नेपाली ताउ कागत र कलम बनाउने निगालो किन्न पाइन्थ्यो । निगालोको बनिबनाउ कलम पनि किन्न पाइन्थ्यो।

उचाल्दा गह्रुको, हेर्दा जाँते फर्सीका आकारको, कतै नढल्कने, नपोखिने, ढलौटको, बुट्टावाल मसीदानी घरमै थियो । त्यसमा हजुरबाले मुसुरे कटुसका बोक्रा फलामको कीटलगायत काठ कठिन्जर पानीमा पकाएर बनाएको कालो टिलिक्क टल्कने मसी भरी हुन्थ्यो। निगालोलाई चक्कुले काटेर, तिखारेर बाले कलम बनाइदिनुभयो।

मसीमा चोपेर नेपाली कागतमा क ख ग घ राम, काम, लिस्नो, सिस्नो सबै लेख्न थालेँ। बा भन्नुहुन्थ्यो, ‘सिक्नलाई सधैँ कागतमै लेख्नुपर्छ भन्ने छैन । मैले पनि बाँसका ढ्याङ्ग्रामा लेखेर सिकेको हुँ !’

बाँसका झ्याङ खोज्न घरबाट टाढा जानुपर्दैनथ्यो। तल पँधेराबारीमा तामा बाँसको ठूलो झ्याङ थियो। त्यहाँ ठूला–ठूला ढ्याङ्ग्रा पाइन्थे। बाँसथानमा पनि पाइन्थ्यो । बिमरीन बारीमा पनि पाइन्थ्यो। बाँस छिप्पिँदै गएपछि फेदतिर निस्कने काँचुलीलाई ढ्याङ्ग्रा भन्ने चलन थियो।

यसलाई पछाडि सानो छोटो लट्ठीले हिर्काएर ढ्याङ्ग्रो बजाएजस्तै गरी बजाउन पनि मिल्थ्यो। हामी त्यसरी बजाउँदै झाँक्रीहरु र लामाहरु जात्रामा नाचेजसरी नाच्थ्यौँ । मैले लेख्न सिक्ने क्रममा अनगिन्ती ढ्याङ्ग्राहरु फटाएँ। ताउका ताउ कागत पनि रङ्गाएँ।

दुर्गाकवचको पढाइ सकियो। अर्गला र कीलक पनि सकियो । कसरी छन्द मिलाएर सररर पाठ गर्ने अब गाह्रो थिएन। अब हजुरबाले रामगीता पढाउन थाल्नुभयो । पुस्तक छापा थियो।

दारिमका दाँनाजस्तै मिलेर बसेका काला–काला झिङ्गा बराबरका अक्षर। एक–एक अक्षरमा डिको। कति सजिलै पढ्न सकिने। म दङ्ग थिएँ। एकदिन हजुरबाले भन्नुभयो, ‘पूजाकोठामा बेलुका म पूजा आरती गर्छु। तँ अब दिनदिनै बेलुका पूजाकोठामा बसेर दुर्गा कवच अर्गला र कवच पाठ गर् । एकदिन नबिराई पाठ गर् । रक्षा हुन्छ !’

छन्द मिलाएर कवच पाठ गर्न अब मलाई गाह्रो थिएन। हरेक साँझ पाठ गर्न थालेँ ।बा भन्नुहुन्थ्यो, ‘उहाँ पण्डित दाइका छोरा र मेरो मामाका छोरा तँभन्दा अलि वर्ष मात्र जेठा होलान् । कति राम्रा अक्षर लेख्छन्। राम्रा अक्षर लेख्न जान्नुपर्छ। नत्र लाजहुन्छ । बुझिस् ?’ म ‘बुझेँ !’ भन्दै टाउको हल्लाउँथेँ र लेख्न थाल्थेँ।

छापा पुस्तकमा रामगीता पढ्दापढ्दै मलाई लाग्यो, ‘मैले यस्तै अक्षर लेख्न सके त हुन्थ्यो नि। एक–एक अक्षरमा बेग्लै डिको तर पनि हरफ कति राम्रो मिलेको ! म पनि यस्तै अक्षर लेख्छु !!’ मनमनै अठोट गरेँ । फुपू दिदीसँग पैसा मागेँ।

लच्याङीको पसलमा गएँ। कागत, मसी र निगालो किनेर ल्याएँ । चक्क खोजेर कलम पनि आफैँले बनाएँ। कसरी बनाउने, देखेबुझेकै थिएँ। टुप्पो छड्के पारेर काट्न अलि सीप चाहिन्थ्यो। कलमको टुप्पो भनेजस्तै भयो भने राम्रा अक्षर लेख्न सकिन्थ्यो। टुप्पोको कटान पनि धेरै राम्रो भयो । खुशी भएँ।

मैले कसैलाई नभनीकन, नदेखाईकन कहिले कतै, कहिले कतै बसेर छापा हेर्ने र त्यस्तै अक्षर लेख्ने अभ्यास थालेँ । बडो एकाग्रता बन्यो। लेख्दै गएँ। लेख्दै गएँ । केही दिनमा मैले त्यो रामगीता सबै लेखिभ्याएँ। दोहोर्‍याएर लेखेँ । तेहेर्‍याएर लेखेँ। अब म छापाजस्तै राम्रा अक्षर, त्यो पनि छिट्टै लेख्न सक्ने भएँ।

बाले मेरो यो मेहनत देख्नुभएको रहेछ। लेखेको कागत पनि कतै भेट्नुभएको रहेछ। मलाई थाहा थिएन। एकदिन हाम्रो घरमा नर्जाबाट यज्ञप्रसाद काका आउनुभएको थियो। फलैँचामा बस्नुभएको थियो। मलाई उहाँको बोली हाँसो र पहिरन मन पथ्र्यो।

घाम ताप्ने बहानामा फलैँचाको पूर्वी छेउमा कुहिना टेकाएर पिँडीका डिलमा टेकेँ र उभिएँ । काकालाई आपूmले लेखेको एउटा लिखतको प्रतिलिपि अरुबाट लेखाउनुपर्ने रहेछ।

बासित भन्नुभयो, ‘दाइ, मेरो यो कागतको प्रतिलिपि चाहिया छ। म आफैँले लेखेको सक्कलको नक्कल आफैँले लेख्न मलाई मन लागेन। तपाईंलाई दुःख दिऊँ भनेर आएको।’ खल्तीबाट निकालेर एउटा कागत बाका हातमा दिनुभयो । फुकाउँदा देखेँ । अक्षर राम्रा थिए।

‘ल हेर् काकाका अक्षर कति राम्रा ! तँ यस लिखतलाई यस्तै गरी मिलाएर सार्न सक्छस् ?’ बाले मलाई सोध्नुभयो। मैले हेरेँ । ‘सक्छु !’ भनेँ। खाली कागत मिलाएर, पट्याएर दिँदै भन्नुभयो, ‘ल यो हेरेर कतै बिस्तुर नबिराएर यस्तै लेख् त !’ मैले भित्र खोपाबाट कलम–मसी लिएर आएँ।

‘यसमा मसी पार्लास् नि ! बर्बाद हुन्छ।’ बाले भन्नुभयो। ‘पार्दिन !’ भन्दै एकछेउमा बसेर लेख्न थालेँ । बा र काका कुरामा व्यस्त हुनुहुन्थ्यो । मैले लेखिसकेर देखाएँ । यज्ञप्रसाद काकाले हातमा लिएर सर्सर्ती हेर्नुभयो। मतिर हेरेर खुशी हुँदै भन्नुभयो, ‘स्याबास् बाबु, राम्रो लेख्यौ । राम्रा अक्षर लेख्न सक्नु ठूलो कुरा हो, बुझ्यौ ? अब काठमाडौँ गएर फर्कँदा म तिमीलाई एउटा ठूलै कापी ल्याइदिन्छु है त ?’ मैले हुन्छ, हवस् भनेँ।

कापी के होला ? कस्तो होला ? मलाई थाहा थिएन। बाले शहरबाट फर्कँदा पेडा ल्याउनुहुन्थ्यो। कहिले आधा त कहिले सिङ्गै खान पाइन्थ्यो। साह्रै मीठो हुन्थ्यो।

कापी भनेको ठूलो र अझ मीठो पेडा होला भन्ने अनुमान गरेँ। मनमनै मख्ख पर्दै उठेँ र माइल्दाइको घरतिर दगुरेँँ। मैले यसरी अक्षर लेखपढ गर्न सिकेको विगत सम्झँदा अहिले मैलाई कथाजस्तो लाग्छ भने अरुलाई के होला ?

प्रतिक्रिया दिनुहोस्