सन्दर्भ : राष्ट्रिय मेलमिलाप दिवस

कांग्रेसमा आन्तरिक मेलमिलाप र व्यवहार सुधारको खाँचो



काठमाडौं ।

आज नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालालले मेलमिलापको नीति लिएर प्रवासबाट मुलुक फर्किएको ४८ वर्ष लागेको छ।

बीपीको मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेसले उहाँलाई सम्झने र विभिन्न राजनीतिक गतिविधिहरु गर्दै आएको छ। तर, कांग्रेसका नेताहरुले जसरी बीपीको नाम लिन्छन्, व्यवहारतः ठ्याक्कै त्यसको उल्टो काम गरिरहेका हुन्छन्।

अहिलेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस २०४८ मा दुई तिहाइनजिक सिटमा थियो । कांग्रेसमा त्यस बेलाकै नेताहरुले अहिले पनि नेतृत्व गरिरहेका छन् । नेताहरुले कांग्रेसभित्र गुटविना पार्टी बन्दैन भन्ने भाष्य व्यवहारतः निर्माण गरिसकेको अवस्था छ।

आन्तरिक समस्याहरु अथाहा छन्। ती समस्या समाधानमा नेताहरुले दिलचस्पी दिन सकेका छैनन् । बरु सिंगो पार्टीभन्दा विभिन्न विचार समूहका नाममा आफ्नो गुट बलियो बनाउने अभियानमा निरन्तर छन्।

यहाँ पुराना पुस्ताको मात्रै कुरा हैन, नयाँ अनुहार जसले पार्टीलाई क्रान्तिकारिता प्रदर्शन गरेर बलियो लोकतान्त्रिक शक्ति निर्माण गर्ने उद्घोषका साथ नेतृत्व तहमा आएका छन्, उनीहरुभित्र समेत एकताको भाव देख्न पाइएको छैन।

अझै उनीहरुमा स–साना समूहलाई प्रयोग गरेर ठूला समूहसँग च्याँखे दाउ थाप्ने प्रवृत्ति हाबी हुँदै गएको आम कार्यकर्ताले अनुभूति गर्न थालेका छन्। पार्टीभित्र नीतिगत बहस र संस्थागत संरचना निर्माणमा भन्दा समूह निर्माण र ती समूहका नेताले व्यवस्थापनमै समय खर्चनुले कांग्रेसमा लोकतन्त्रको चिरहरण हुँदै गएको छ।

पछिल्ला वर्षहरुमा कांग्रेसलाई अन्य राजनीतिक दलहरुले समेत भन्न थालेका छन् कि ‘नेपाली कांग्रेस कसैसँग हार्छ भने ऊ आफैंसँग र आफ्नै कारणले हार्छ ।’ हो, वास्तवमा कांग्रेसलाई अरु कसैले हराउन मुस्किल पर्छ। तर, आफ्नै भन्नेहरुले सजिलै हराइदिन्छन्।

अहिलेसम्मको इतिहास हेर्दा कांग्रेसको सुन्दरता भनेकै आफैंले आफैंलाई हराउने र त्यसैमा सबै रमाउने भन्नेजस्तै देखिएको छ। चुनावी मैदानमा होमिएका उमेद्वारलाई हराउन एकले अर्कोलाई पैँचो तिरेर हिसाब मिलान गर्ने प्रक्रियालाई नै कांग्रेसका दिग्गज नेताहरुले ठूलो लोकतान्त्रिक अभ्यासका रुपमा व्याख्या गर्दै हिँड्ने गरेका छन्। तर यो प्रक्रिया कहिलेसम्म चल्ने ? कांग्रेसीजनहरुका लागि यो महत्वपूर्ण प्रश्न बन्न सक्छ। नेताहरुले यो प्रवृत्तिलाई गाउँगाउँमा पुर्‍याउने काम गरेका छन्।

कार्यकर्ता–कार्यकर्ताबीच जुधाउने र त्यसबाट आफू उम्कने अभिप्राय नेताहरुको छ। के यही हो त लोकतन्त्र ? यही हो बीपीको प्रजातान्त्रिक समाजवाद ? बीपीको मेलमिलाप दिवसका दिन गुलिया भाषण गर्दैमा कांग्रेस सुध्रिएको र नेता–कार्यकर्ताहरुबीच कुनै मतभिन्नता छैन भनेर आम कार्यकर्ता र जनताले कसरी बुझ्ने ?

अहिले कांग्रेसभित्र यस्तो बहस चल्न थालेको छ कि आम निर्वाचनमा पार्टीको तर्फबाट खस्ने मतबाट ५ हजार मत घटाएर मात्रै भोटको हिसाब गरेर टिकट लानुपर्ने अवस्था छ। यो पार्टीको आन्तरिक राजनीतिमा निकै गम्भीर र सत्यतामा आधारित बहसको विषय हो। अब यस्ता विषयमा पार्टीमा बहस गरेर निकास ननिकाल्ने हो भने कांग्रेसको आगामी निर्वाचन झनै फलामको चिउरा बन्दै जाने निश्चित छ।

पुराना पुस्ताका नेताहरुले भेउ नपाएका कतिपय महत्वपूर्ण तर सम्हाल्न नसकेका कुराहरुलाई नयाँ पुस्ताका नेताहरुले सोच्नुपर्ने अवस्था आएको छ। तर, पुरानालाई गाली गरेर मात्रै हुँदैन।

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा ऊभित्रको आन्तरिक मेलमिलापको नीति कत्तिको पालना भएको छ भनी फर्केर हेर्नु जरुरी छ। आफैंभित्र मेलमिलाप गर्न नसक्ने अनि राष्ट्रिय मेलमिलापको दुहाइ दिएर मात्र कसरी बाँच्ला लोकतन्त्र ? पार्टीले कार्यक्रम गर्दै गर्दा आफ्नो गुटलाई मात्र बोलाउने र मन नपरेकाहरुलाई नआइदिए हुन्थ्यो भन्ने अनि अर्को समूहले कार्यक्रमहरु नै सफल हुन नदिने जुन खालको प्रवृत्ति मौलाएको छ त्यो नेपाली कांग्रेसका लागि मूल अभिशाप हो।

पार्टीको आन्तरिक मेलमिलाप र व्यवस्थापन, गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरुलाई स्वयम् निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, समूहिक निर्णय प्रणालीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्य, नेतृत्व तहमा देखिएको अहंताको अन्त्य, नेता र जनताबीच देखिएको खाडलको अन्त्य, एक व्यक्ति एक पदको अवधारणाको विकास, आम जनताको मनोभावना अनुसार नीति तथा कार्यक्रम, विकास र सुशासनलगायतका कुराहरुलाई केन्द्रभागमा राखेर पार्टीलाई सामूहिक नेतृत्वमा लैजान कांग्रेसको नेतृत्वले सक्नुपर्दछ।

हार्दा पार्टी हार्ने र जित्दा व्यक्ति जित्ने भन्ने प्रवृत्तिले अघि बढेको कांग्रेसका नेताहरुको चरित्रलाई सुधार्न नसक्ने र आन्तरिक मेलमिलापमै किचलो गरिरहने हो भने अबको कांग्रेस आजको राप्रपाको ठाउँमा पुग्ने कुरा अवश्यम्भावी छ। जब–जब देशमा संकट आउँछ, त्यस बेला कुनै न कुनै हिसाबले देशको नेतृत्व गरेको नेपाली कांग्रेस आज आइपुग्दा निकै खुम्चिएको छ।

जनतामा कांग्रेस खुम्चनुको कारण कम्युनिस्टहरुको एकतासँगै पार्टीको आन्तरिक नीति, कार्यक्रम र कार्यकर्ताबीच मेलमिलापको अभाव हो। आन्तरिक मेलमिलाप तथा व्यवस्थापन, संगठन सुदृढीकरण र नेता शुद्धीकरण समयानुकूल परिमार्जित नीति, कार्यक्रम र व्यावहारिकरुपमा कांग्रेस जनताको पर्टी हो भन्ने नागरिकमा विश्वास दिलाउने व्यवहार नै हो।

प्रतिस्पर्धी राजनीतिक शक्तिले अर्को प्रतिस्पर्धामा उत्रिएको शक्तिलाई सिध्याउन खोज्नु कुनै राजनीतिक अपराध नभई यो सामान्य राजनीतिक सिद्धान्तभित्रै पर्दछ। तर घरभित्रबाटै एकले अर्कोलाई सिध्याउन खोज्नुलाई चाहिँ ठूलो राजनीतिक अपराधका रुपमा लिँदा अतिशयुक्ति हुँदैन । नेपाली कांग्रेसको वर्तमान अवस्था यही हो।

यसले विपक्षीलाई फाइदा पुग्यो र आन्तरिक हारको पीडा खेप्नुपर्‍यो। अर्को कुरा कांग्रेसले आफ्नो नेतृत्वको सरकारले गरेका जनमैत्री कामहरुलाई आम नागरिकमाझ पस्कनै सकेन। सात सालको क्रान्तिदेखि प्रजातन्त्र पुनस्र्थापना हुँदै संविधानसभाबाट जनताको संविधान लेख्ने नेतृत्व गरेको कांग्रेसले विभिन्न समयमा सत्तामा रहँदा गरेका जनमैत्री कामहरु जनतामाझ पु¥याउन सकेको छैन।

पार्टी नेतृत्व सरकारमा रहँदा विभिन्न समयमा (गाउँ–गाउँमा विद्यालय, स्वास्थ्य संस्था, स्वास्थ्य स्वयंसेविकाको व्यवस्था, गरिब तथा दलित छात्रछात्राहरुका लागि छात्रवृत्ति, विद्यार्थी खाजा खर्च, गरिब, अशक्त र ठूला प्रकृतिका रोगहरुको निशुल्क उपचार तथा छुट सुविधालगायतका महत्वपूर्ण निर्णय गरेको भए पनि त्यसलाई नागरिकमाझ पुर्‍याउन नसक्दा कांग्रेसले गरेको जनमैत्री कामको ब्याज अन्य राजनीतिक दलले खाइरहेका छन्।

कांग्रेसलाई भोट दिने देशभरका नागरिक, शुभेच्छुक तथा कार्यकर्ताहरु कांग्रेसको हारप्रति दुःखी देखिए पनि पार्टीका नेताहरुलाई हारको कुनै प्रवाह छैन । स्वयम् हारेका उमेद्वारहरुमात्र अलि चिन्तित देखिन्छन्। उनीहरु पार्टीको हारभन्दा पनि व्यक्तिगत हारको पीडामा रुमलिएका हुन कि भन्ने आम कार्यकर्ताको बुझाइ छ।

हारको पीडा स्वयंलाई हुनु स्वाभाविक पनि हो। तर कार्यकर्तामाझ पुगेर यसलाई नेतृत्वले चिर्नुपर्छ। हिजो कांग्रेसलाई भोट दिएर कांग्रेसको हारप्रति दुःखी बनेका जनतासँग आज कुनै नेताहरु पुग्न सकेका छैनन्।

यसले ती मतदाताहरुको पार्टीप्रतिको स्वाभिमान, इमानदारिता, निष्ठा र आत्मविश्वासमा ठेस पुग्न सक्छ । उनीहरुलाई उमेद्वार तथा पार्टी नेता–कार्यकर्ताले कुनै न कुनै हिस्साबाट सान्त्वना दिने र स्थानीय तहमा पुगेर पार्टीका संघ–संगठनहरुलाई चलायमान बनाउने अभियानमा लाग्नु अहिलेको मूल आवश्यकता हो।

यससँगै गुटको राजनीतिलाई मलजल गर्ने र पार्टी कार्यकर्ताको हारप्रति रमाउने प्रचलनलाई आजैबाट तिलाञ्जलि दिन सकिएन भने भोलिको कांग्रेस निकै कमजोर बन्छ र पुनः हिजोका ठाउँमा आइपुग्ने कुरा इतिहासमात्र बन्छ। पार्टी नेतृत्वको प्रवृत्तिले बिगारेको कांग्रेसमा नयाँ पुस्ताका कार्यकर्ताको बानी–व्यवहारमा समेत परिवर्तन आइसकेको छ। उनीहरु कुनै न कुनै टिमको कार्यकर्ता भएर अडिएका छन्, न कि सिंगो पार्टीको होइन।

आन्तरिक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरुलाई स्वयम् निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, समूहिक निर्णय प्रणालीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्यलगायतका केही महत्वपूर्ण विषयमा बहस चलाउन अहिलेको कांग्रेसभित्रको पहिलो आवश्यकता देखिएको छ।

साथै ७० वर्षमाथिका अर्थात् ज्येष्ठ नागरिक भइसकेका पार्टी नेतृत्वलाई उच्च सम्मानका साथ पार्टी संगठनभन्दा माथि रहने गरी पार्टीको संरक्षण तथा सल्लाह सुझाव दिने ठाउँ निर्माण गरी व्यवस्थापन गर्ने र नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न सक्नु अहिलेको दोस्रो आवश्यकता हो।

पार्टी शुद्धीकरण र सुदृढीकरणको अर्काे महत्वपूर्ण कुरा पार्टीभित्र पुरस्कार र दण्डको समेत व्यवस्था गरिनुपर्छ। पार्टी सञ्चालनका क्रममा विधानलाई केही हदसम्म मात्र पालना गर्न सकेको खण्डमा पनि धेरै कुराको सुधार आफैं हुन थाल्छ।

सदस्यता वितरणको समयदेखि नै गरिने गुटको राजनीतिलाई अन्त्य गरी सदस्यता प्रदान वा नवीकरण गर्दा लाग्ने शुल्कसमेत कुनै नेताको खल्तीबाट नभई स्वयम् सदस्यबाटै अनिवार्य लिने गरी विधानबमोजिम अघि बढ्नु श्रेयष्कर हुन्छ।

पार्टीभित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरुलाई ज्येष्ठ नागरिक संगठन गठन गरी जिम्मेवारी दिन सक्यो भने पनि नेता व्यवस्थापनमा केही सहजता आउँछ । उल्लिखित विषयलाई मूर्तरुप दिने सन्दर्भमा कैयौँ चुनौतीहरु पनि छन्।

तथापि यी चुनौतीलाई सामना गर्दै अबको नेतृत्वसँगै पार्टी नेता–कार्याकर्ताहरुले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा गम्भीर भएर बहस चलाउनु जरुरी छ।

अझ भन्दा कांग्रेसको भविष्य आफूभित्र र आफूसहित देश र जनताको भविष्य कांग्रेसभित्र खोज्ने नयाँ पुस्ताका नेता–कार्यकर्ताहरुले बहस सञ्चालनसँगै तत्काल व्यवहारमा उतार्न सक्नुपर्दछ।

अतः पार्टीभित्रको आन्तरिक मेलमिलाप र व्यवस्थापनमा ध्यान दिँदै देशको समृद्धि र विकासलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने हो भने मात्र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता अझै लोकप्रिय बन्न सक्छ ।

(लेखक शर्मा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्