प्रकृतिमाथि शोषण हैन, पोषण प्राप्त गरौं



काठमाडौं ।

आधुनिक विश्वमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनका मुद्दाहरुले गत केही दशकयता मानिसको ध्यान आकर्षित गर्न थालेको छ।

किनभने अहिले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु टड्कारोरुपमा देखिन थालेको छ । बाढी, पहिरो, सुख्खा, अतिवृष्टि, डढेलोजस्ता प्राकृतिक प्रकोपका घटनाहरुमा हालैका वर्षहरुमा तीव्र वृद्धि हुन थालेको छ। तर यो समस्या हाम्रा पुर्खाहरुले हजारौं वर्षअघि नै औंल्याइसकेका थिए।

पूर्वीय दर्शनका ग्रन्थहरु जस्तै– वेद तथा पुराणहरुमा मानिसले प्रकृतिको अत्यधिक दोहन गर्न नहुने र पृथ्वीलाई संरक्षण गर्नुपर्ने कुरा औंल्याइएको छ।

पृथ्वीबाट हामीले आफूलाई चाहिएको पोषण प्राप्त गर्ने हो, तर त्यसलाई अति दोहन र शोषण गर्न थाल्यौं भने त्यसको परिणाम भयानक हुनसक्छ । हजारौं वर्षअघि रचिएको अथर्ववेदको भूमिसूक्तमा पृथ्वीलाई माताको संज्ञा दिँदै भनिएको छ– धर्ती मेरी माता हुन्, मेघ पिता हुन्, यी दुवैले हाम्रो यज्ञकार्यलाई पूर्ण गरुन् अर्थात् हाम्रो कल्याण गरुन्।

करिब पाँच हजार वर्षअघि रचिएको श्रीमद्भागवतमा राजा पृथु र गाईको रुपमा प्रकट भएको पृथ्वीबीच एक रोचक संवाद प्रस्तुत गरिएको छ।

सो अनुसार राजा पृथुले शासनको बागडोर सम्हाल्दा उनको राज्यमा खाद्यान्न तथा औषधिहरुको अभाव भएपछि राजा क्रुद्ध भई गाईरुपी पृथ्वी मातालाई धनुषवाण तेस्र्याउँदै मार्न खोज्दा ती गाईले नम्र भएर राजालाई आफूप्रति क्रोध नदेखाउन र बुद्धिले काम गर्न सल्लाह दिन्छिन्।

गाईरुपी पृथ्वीले भन्छिन्– ‘शासकहरुले पृथ्वीलाई सम्मान र संरक्षण गर्नुको सट्टा केवल औषधि, अन्न तथा बहुमूल्य वस्तुहरु चोर्ने र लुट्ने मात्र गरेकोले मैले ती अन्नलगायत बहुमूल्य वस्तुहरु आफ्नो शरीरभित्र लुकाएर राखेकी हुँ ताकि भविष्यका सन्तानहरुका निम्ति सुलभ होस्।’

उनले राजालाई सल्लाह दिन्छिन्– ‘तिमीले ऋषिमुनिहरुले अपनाएको जस्तो कृषि तथा यज्ञको उपयुक्त उपाय अपनाऊ, पर्वतहरुलाई समतल बनाई वर्षाको पानी सबैतिर बराबर हुने गरी सिंचाइको प्रबन्ध मिलाऊ र मलाई सावधानीपूर्वक दोहन गर । त्यसो गरेको खण्डमा तिमीले आफ्नो प्रजाको निम्ति चाहिएको जति अन्न आदि प्राप्त गर्न सक्नेछौ।’

भागवतमा राजालाई प्रकृतिमाथि अनावश्यक भार थोपर्ने कार्य नगरी सावधानीपूर्वक खनजोत गरी आफ्नो आवश्यकता पूर्ति गर्ने सल्लाह दिइएको छ। जसरी एकजना गाई गोठालाले योग्य बाच्छो, दोहनपात्र र दुहुने मानिसको व्यवस्था गरेर गाईबाट सहजरुपमा दूध दुहन्छ, त्यसै गरी पृथ्वीलाई पनि उचित संरक्षण, सम्मान र स्याहार दिएमा त्यसबाट हामी सजिलै आफूले चाहेजति अन्न प्राप्त गर्न सक्छौं भन्ने भागवतमा दर्शाइएको छ।

राजालाई सल्लाह दिँदै पृथ्वीरुपी गाई भन्छिन्– ‘तिमी भूमिलाई कृषियोग्य जमिन, पशुहरु चर्ने ठाउँ, किसानको बस्ती, खुला चौर आदि विभिन्न भागमा विभाजित गर अनि आफ्ना प्रजाहरुको निम्ति चाहिएको जति अन्न तथा औषधिहरु प्राप्त गर।’

जसरी गाईले आफ्नो बाच्छोलाई वात्सल्यभावले दूध दिन्छ, त्यसै गरी पृथ्वीलाई पनि प्रेमपूर्वक दोहन गर्ने वातावरण मिलाउन सके त्यसले हामीलाई पोषण दिन्छ।

हामीले आफ्ना असीमित आकांक्षाहरु पूर्ति गर्न पृथ्वीमा भएभरका सबै कच्चा पदार्थहरु रित्याउनुको साटो बाँच्नको निम्ति न्यूनतम आवश्यकता पूर्ति गर्न प्रकृति संरक्षण र विकासबीच सामञ्जस्य कायम गरेर अगाडि बढ्न सकेमा हामी आफ्ना छोरानातिहरुका निम्ति सुरक्षित र संरक्षित पृथ्वी हस्तान्तरण गर्न सक्नेछौं।

पूर्वीय दर्शनले हामीलाई इन्द्रिय र कामनाहरुको दास बन्नेतिर नलागी इच्छा र कामनाहरुलाई व्यवस्थित बनाउन सिकाउँछ। औद्योगिक क्रान्तिको समययता विकसित राष्ट्रहरुले अपनाई आएको विकासको मोडेल अहिले घातक सिद्ध भएको छ।

हामीले जुन मानव केन्द्रित विकासको अवधारणालाई अंगाडि सा¥यौं, त्यो अहिले प्रत्युत्पादक सिद्ध भएको छ। आजभोलि हामी कुनै पनि वस्तुलाई रियुज, रिन्यू र रिड्युस्ड युज अर्थात् पुनः प्रयोग, नवीकरणद्वारा प्रयोग र कमसे कम प्रयोग गर्ने धारणालाई वातावरण संरक्षणको मूलमन्त्र मान्न थालेका छौं।

वास्तवमा स्रोत, साधन नवीकरण गर्ने पृथ्वीको क्षमताभन्दा अत्यधिक मात्रामा त्यसको दोहन गरेमा त्यो दिगो हुनसक्दैन । अहिले तीव्र वातावरण विनाश तथा जलवायु परिवर्तनका कारण पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिको समयको तुलनामा २ डिग्रीभन्दा बढी मात्राले वृद्धि हुने अनुमान गरिएको छ, जसले हामी सबैलाई चिन्तित बनाएको छ।

यी सबैको प्रमुख कारण पृथ्वीलाई आवश्यकभन्दा बढी दोहन गरी वातावरण विनाश निम्त्याउनुका साथै प्राकृतिक स्रोत–साधनहरु रित्याउने क्रम बढ्नाले हो भन्ने कुरामा शंका छैन।

त्यसै गरी पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरुमा हिमालय पर्वतको महिमा गाउँदै त्यसको उचित संरक्षणमा जोड दिइएको छ । संस्कृतका महाकवि कालिदासले कुमारसम्भव नामक आफ्नो प्रसिद्ध काव्य रचनामा हिमालय पर्वतको महत्वको वर्णन गरेका छन्।

इस्वीको पहिलो वा दोस्रो शताब्दीतिर प्रकाशित सो काव्यमा भनिएको छ– ‘पृथ्वी गाई हुन् भने हिमालय पर्वत बाच्छो। जसरी गाईले आफ्नो प्यारो बाच्छोलाई दूधको अत्यन्त पोषिलो भाग छुट्याएर राखेको हुन्छ, त्यसै गरी पृथ्वीले हिमालय पर्वतलाई बहुमूल्य रत्न, जडीबुटी, जनावर, खानीजस्ता महत्वपूर्ण वस्तुहरुले सुसज्जित गरेर राखेको हुन्छ ।’

आजभोलि वैज्ञानिकहरुले हिमालय पर्वतको महत्व बुझेर त्यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता आंैल्याउन थालेका छन्। अहिले तापक्रममा अस्वाभाविक वृद्धिका कारण हिमाली क्षेत्रका हिउँ पग्लेर, हिमतालहरु फुटेर समुद्री सतह बढ्नाले विश्वका कतिपय देशहरु उच्च जोखिममा पर्न थालिसकेका छन् ।

अथर्ववेदको भूमि सूक्तमा पृथ्वीको महत्वलाई दर्शाउँदै उनको सम्मानमा ६३ वटा श्लोकहरु रचिएको छ। ती श्लोकहरुको मुख्य आशय हो, पृथ्वीलाई उचित सम्मान गरी त्यसको संरक्षण गर्दै पुस्तौंपुस्तासम्मको निम्ति जोगाएर राख्ने। त्यसमा भूमिको सम्मान गर्दै विभिन्न श्लोकहरु रचिएको छ र पृथ्वीको उचित सम्मान र संरक्षण गर्नुपर्ने कुरा औंल्याइएको छ।

अहिले जलवायु परिवर्तनप्रति विश्वव्यापी चिन्ता व्यक्त गरिन थालिएको छ । हालै युनाइटेड अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप २८ मा पनि विभिन्न देशका राष्ट्रप्रमुख तथा वातावरणविद्हरुले विश्वव्यापीरुपमा देखिएको जलवायु परिवर्तनका विनाशकारी असरहरुप्रति गहिरो चिन्ता व्यक्त गरे। तर जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न मानिसले जे–जस्तो तदारुकताका साथ कार्यहरु गर्नुपर्ने हो, त्यसतर्फ चासो दिएको देखिँदैन ।

हिमालय क्षेत्र अहिले जलवायु परिवर्तनका कारण अत्यन्त ठूलो जोखिममा परेको कुरा जलवायु सम्मेलनमा उठेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आफ्नो सम्बोधनमा नेपालका हिमशृङ्खलाबाट ३० वर्षको समय अवधिभित्र करिब एक तिहाइ हिउँ पग्लेर गायब भएको कुराप्रति चिन्ता व्यक्त गर्दै यो जलवायु परिवर्तनको कारण हो भन्ने निष्कर्ष निकालेका छन् । नेपालका हिमतालहरु पग्लिन थालेकोमा चिन्ता व्यक्त गर्दै उनले विकसित राष्ट्रहरुलाई जलवायुको स्थितिमा सुधारका निम्ति छुट्याइएको सहयोग रकम क्लाइमेट फाइनान्सिङलाई डबल बनाउनपर्ने कुरा औंल्याएका छन् ।

एक अध्ययन अनुसार हिमालय क्षेत्रका करिब २४ करोड जनसंख्याको जनजीविका असंख्य हिमतालहरु तथा १० प्रमुख हिमनदीहरुमा प्रत्यक्षरुपमा निर्भर रहेको छ भने तल्लो तटका ८ देशका करिब एक अर्ब मानिस पनि ती हिमताल तथा नदीहरुको पानीमा निर्भर रहेका छन्।

विश्वका वैज्ञानिक तथा वातावरणविद्हरुको ध्यान केही वर्षयतादेखि मात्र हिमालय क्षेत्रको महत्व र तिनको संरक्षणतर्फ तानिएको छ । तर पूर्वीय दर्शनका ग्रन्थहरुमा हजारौं वर्षअघिदेखि नै त्यसको महत्व बुझेर त्यसप्रति मानवजातिलाई सजग गराइएको छ ।

अहिले हामीले एसियाको वाटर टावर भनी नामकरण गरेको हिमालयको महत्व हाम्रा पुर्खाहरुले दुई हजार वर्षभन्दा अघि नै राम्ररी बुझिसकेका थिए । तसर्थ हामीले आफ्ना पुर्खाहरुको ज्ञान र उनीहरुको दिव्य वाणीलाई मनन गर्न सक्नुपरेको छ ।

अथर्ववेदको भूमिसूक्तमा उल्लिखित ११ औं मन्त्रमा भनिएको छ– ‘हे पृथ्वी, तिम्रो बरफद्वारा ढाकिएको पर्वत र घना वनले हामीलाई सुख प्रदान गरोस् । म इन्द्रदेवद्वारा संरक्षित त्यस पृथ्वीमा यस प्रकार प्रतिष्ठित होऊँ कि मैले विनाश देख्न नपरोस् ।’ तसर्थ हिउँ र घना जंगलद्वारा ढाकिएको पृथ्वीले नै हाम्रो कल्याण गर्न सक्छ भन्ने कुरा वेदमा हजारौं वर्षअघि नै लेखिएको छ, जसको महत्व हामीले आज बल्ल बुझ्न थालेका छौं ।

जलवायु परिवर्तनको असरलाई रोक्न पृथ्वीलाई दोहन गर्ने अवधारणालाई त्याग्नुपर्छ । पृथ्वीलाई मानवजाति जसरी भार बन्दै गइरहेको छ, त्यो क्रमलाई रोक्नुपर्छ । हामीले आफ्नो जीवनलाई सरल एवं प्रकृतिमैत्री बनाउनु जरुरी छ।

औद्योगिक क्रान्तिदेखि आजको दिनसम्म हामीले पृथ्वीको दोहन कति ग¥यौं, के त्यसको लेखाजोखा गर्ने बेला भएन र ? के पृथ्वीको दोहन गर्ने प्रक्रियालाई नै विकास भन्ने हो ? पृथ्वीका स्रोत र साधन सबै रित्याउने कार्यमा पूर्णविराम लाग्नुपरेको छ, यदि आगामी पुस्तालाई स्वस्थ र सुन्दर पृथ्वी हस्तान्तरण गर्ने हो भने ।

पृथ्वीको अत्यधिक दोहनलाई नै विकास भन्ने हो भने त्यस्तो विकास हाम्रो निम्ति निकै महँगो पर्न जानेछ। त्यस्तो घातक विकास हामीले थेग्न सक्ने छैनौं। आधुनिक विज्ञानको भाष्यमा मानिसले पृथ्वी, चन्द्रमा, समुद्र, हिमाल, अन्तरिक्ष आदिमाथि विजय प्राप्त गरेको भनी जनाइने गरिन्छ, जसको कारण हामीले पृथ्वी वा प्रकृतिप्रति न्याय गरेको ठहरिन्न ।

वास्तवमा हामीले प्रकृतिमाथि विजय हासिल गर्न हैन, प्रकृतिलाई स्नेह गर्ने, स्याहार गर्ने, सम्मान र रक्षा गर्ने हो । प्रकृतिको संरक्षण भनेको हाम्रो आफ्नै संरक्षण हो, किनभने हामी प्रकृतिभन्दा भिन्न छैनौं ।

आधुनिक अर्थशास्त्रले हाम्रा असीमित आकांक्षालाई कसरी पूरा गर्ने भन्ने सिकाउँछ। तर वैदिक अर्थशास्त्रले हामीलाई कसरी आफ्ना आवश्यकतालाई सीमाभित्र राख्ने भन्ने शिक्षा दिन्छ। एउटा लोकप्रिय भनाइ पनि छ, पृथ्वीसँग मानिसको आवश्यकतालाई पूर्ति गर्न प्रशस्त स्रोत–साधनहरु छन्, तर त्यसो भन्दैमा उसले हाम्रो लोभ र विलासितालाई भने पूर्ति गर्न सक्दैन । यहाँनिर भागवतको दोस्रो स्कन्धमा उल्लिखित निम्न भनाइहरु स्मरणीय छ:
जमिनमा पल्टेरै मीठो निद्रा लाग्छ भने महँगा पलङहरु किन चाहियो ?
जब दुई अँजुली थापेर नै काम चल्छ भने थुप्रो भाँडाकुँडाहरु किन बटुल्ने ?
यदि वृक्षको पात ओढेर नै काम चल्छ भने किन महँगा वस्त्रहरु किन्ने ?
के भोक लाग्दा वृक्षहरुले फलफूल भीक्षामा दिँदैनन् र ?
के पानीको प्यास मेटाउन चाहनेहरुको लागि नदीहरु सुकिसक्यो र ?
के बस्नको निम्ति पहाडका गुफाहरु छैनन् र ?

के बुद्धिमान् मानिसहरुले आवश्यकता पूर्ति गर्न थोरै धनको निम्ति घमण्डी धनीहरुको चाप्लुसी किन गर्नुपर्‍यो ? तसर्थ हामीले पूर्वीय सिद्धान्तमा आधारित सादा जीवन उच्च विचारको सिद्धान्तलाई अँगाल्न सक्नुपरेको छ। सरलतम र सुखमय जीवन जिउन सिक्नुपरेको छ। प्रकृतिलाई दोहन हैन, संरक्षण गर्न सिकौं।

प्रकृतिले थेग्न नसक्ने विकासलाई विनाश ठान्दै त्यस प्रकारको जीवनशैलीलाई त्यागौं । फजुल खर्च कटौती गरेर, विलासी जीवन त्यागेर, सरल र प्रकृतिमैत्री जीवनशैली अपनाउन सकेमा नै वास्तवमा पर्यावरणलाई जोगाउन सकिन्छ र जलवायु परिवर्तनका असरहरुलई कम गर्न सकिन्छ भन्ने कुरा नभुलौं।

हामीले प्रकृतिसँग सामञ्जस्य कायम गरी मानवजीवनलाई दीर्घकालीनरुपमा सुखमय बनाउन सक्नुपरेको छ, क्षणिक लाभ र सुविधालाई त्यागेर।

प्रतिक्रिया दिनुहोस्