लमजुङ।
पूर्वी लमजुङको राइनास नगरपालिकामा राइनासकोट भर्टिकल दौड प्रतियोगिता हुने भएको छ । इपिक हिमालय एडभेन्चर ट्रेक र बिश्वप्रसिद्ध अल्ट्रा धावक मिरा राईको संयुक्त आयोजनामा दौड प्रतियोगिता हुने भएको हो ।
उक्त दौड प्रतियोगिताका लागि राइनास नगरपालिका र मिड हिल एग्रो फार्म पालुङटारले विशेष सहयोग गर्ने भएको छ । प्रतियोगिता यही पौष १५ गते तमु ल्होसारका दिनसर्वोदय सेवा आश्रमबाट सुरु हुने आयोजकले जनाएको छ ।
राइनासकोटको पर्यटन प्रवर्द्धन र महिला सशक्तिकरणको लागि थप टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा चर्चामा रहेको राईनास कोटको थप प्रवर्द्धन गर्न प्रतियोगिता सार्थक हुने आयोजकको अपेक्षा छ ।
राईनास नगरपालिका ८ मा रहेको सर्वोदय सेवा आश्रमबाट राईनासकोट सम्म एकहजार सातसय ५० मिटर उकालोमा दौड प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ भने दोस्रो हुनेले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक सहभागीहरुलाई टिसर्टसँगै प्रमाण पत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
ऐतिहासिक पर्यटकीय क्षेत्र राईनासकोट दौड सँगको इतिहाससँग पनि जोडिएको छ । बाईसी चौविसे राज्यको समयमा दोडीएर लिगलिग राज्य जितेका द्रव्य शाह लिगलिगको राजा हुनु अघि राईनासकोटमै बस्दै आएको इतिहासमा उल्लेख छ ।
लमजुङे राजा यशोब्रम्ह शाहका दुई छोरा मध्ये द्रव्य शाह राईनासकोटमा बस्दै आएका थिए । राईनासमै रहेका बेला छिमेकी लिगलिगमा दौडिएर राजा छान्ने चलन थाहा पाएपछि उनि पनि दौडमा सहभागी भई जितेर राजा भएको इतिहासमा उल्लेख छ । लिगलिगमा अझै पनि प्रत्येक वर्ष दौड प्रतियोगिता गराई राजा छान्ने चलन छ ।
प्रतिक्रिया