चुनावको चिन्ताभन्दा काम गरेर देखाउनु पर्छ : गगन थापा

0
Shares

उदयपुर।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावसम्म काम गरेर देखाउनुपर्ने बता्रएका छन् । शुक्रबार कटारीमा आयोजित उदयपुर पार्टीको प्रथम सम्मेलनमा बोल्दै महामन्त्री थापाले ०८० देखि ०८३ सम्मको ४ वर्षे अवधिलाई कांग्रेसले कुरामा नभएर काम गरेर बिताउनुपर्ने बताए ।

थापाले सबै पार्टीहरु मिसन ०८४ भनेर हिडेको बताउँदै ४ वर्षपछि हुने चुनावको चिन्ता अहिलेदेखि लिइराख्नु नपर्ने बताए । महामन्त्री थापाले भने ‘०८० देखि ०८३ सम्मको ४ वर्षे अवधिमा सरासर काम गरेर देखाउ, कांग्रेस यो चुनावको चिन्ता लिदैन, काम गरेर देखाउँछ । तपाँईहरु पनि त्यो चुनावको चिन्ता अहिलेदेखि लिएर बस्नुभन्दा काम गरेर देखाउनुस् ।’

राम्रा काम गर्दै गएमा चुनावको मिसन अहिलेदेखि बनाईराख्नु नपर्ने भन्दै उनले राम्रा काम गर्ने पार्टीलाई जनताले त्यसै भोट दिएर जिताउने विश्वास लिए । कांग्रेसले अव वर्षमा ५ लाख युवालाई रोजगारी दिनेगरी कार्यक्रम ल्याउने भन्दै उनले त्यसका लागि सरकारलाई अघि बढ्न सुझाए । तर, सेना, प्रहरी, निजामति, बित्तीय संस्था र नीजिक्षेत्र सबैमा गरी वर्षमा ५० हजार पनि रोजगारी सिर्जना हुने अवस्था नरहेकाले काँग्रेससमेतको गठबन्धन सरकारलाई सघाउँदै युवा पलायन रोक्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

मुलुकमा चरम निराशा बढिरहेको र केही तत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था परिवर्तनको कुरा जवरजस्ती वहसमा ल्याइएको भन्दै थापाले यसो हुनुमा कांग्रेसलगायत ठूला पार्टीहरुकै कमजोरी रहेको औँल्याए । अव ती कमीकमजोरीहरु कांग्रेसले अव आफु सच्चिएर र अरुलाई पनि सच्याउँदै अघि बढ्नुपर्ने थापाले जनाए । यतिबेला खस्कदो अर्थतन्त्र, चरम बेरोजगारी र सामाजिक सञ्जालमा आएका कुराहरुको विश्लेषण गरेर जनताको ठूलो हिस्सा नराम्ररी रिसाएको या निराश भएको थापाको भनाई थियो । बाउआमा छोराछोरी नेपालमा नबसेकोमा निराश, युवा पीढी रोजगारी नपाएकोमा र विदेशमा दुःख गरी आएकाह्ररु स्वदेशमै जिविकोपार्जन गर्न नसकेकोमा निराश भएको महामन्त्री थापाको भनाई थियो ।

निराश र रिसाएको डेडकरोड जनतामा आशा जगाउने काम अव कांग्रेसले गर्ने भन्दै त्यसका लागि केन्द्रदेखि वडा समितिसम्मका नेता कार्यकर्तालाई निर्देशन दिए । नेपालको पुरानो, जेठो र ठूलो पार्टी भएको नाताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले जनतामा छाएको निराशालाई आसामा परिणत गर्ने जिम्मेबारी वहनअन्तरगत कांग्रेस तयार रहेको बताए । ‘ठूलो र पुरानो पार्टी भएकाले कांग्रेस देशको अभिभावक पनि हो’ थापाले भने ‘त्यसैले जनतामा छाएको निराशालाई आसामा परिणत गर्न, बेथितिलाई हटाएर थिति बसाल्ने जिम्मा काँग्रेसले नै लिनुपर्छ ।’