भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि शुरु



काठमाडौं ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि, फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि को आयोजनामा चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपालफर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी आज (बिहीबार) देखि शुरु हुने भएको छ।

राजधानीको भृकुटीमण्डपमा हुने सो प्रदर्शनी तीन दिनसम्म चल्ने छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १ सय भन्दा बढी स्टलहरू रहने छन्।

नेपालफर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जाल विस्तारको कार्य प्रदर्शनी मार्फत गर्ने बताइएको छ।

सो प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने छ।

यो प्रदर्शनीले विभिन्न देशका कम्पनीहरू र ब्रान्डहरू सहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीतिनिर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ।

यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालका उद्योगहरूलाई आवश्यक उचाइमा लिएर जाने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्