३० खेलपछि प्लेअफमा पुग्ने पहिलो टोलीको टुंगो



काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) को ३० औं खेल सकिँदा प्लेअफमा पुग्ने बल्ल एक टोलीको टुंगो लागेको छ। ९ टोलीको सहभागिता रहेको प्रतियोगितामा पोखरा थन्डर्स प्लेअफमा पुग्ने पहिलो टोली बन्यो।

शीर्ष चार टोलीले प्लेअफ खेल्ने प्रावधानअनुसार अब तीन टोलीको प्लेअफका लागि छनोट हुन बाँकी छ। मंसीर ८ गतेदेखि शुरु भएको एनएसएलमा हिजो मंगलबार दुई खेल भए।

जसमा पहिलो खेलमा प्लेअफ होडबाट बाहिरिइसेकेको इलामसँग ललितपुर सिटी १–० ले पराजित भएको थियो। यो हारले ललितपुरको लागि प्लेअफमा पुग्न अन्तिम खेलमा काठमाडौं रेजर्ससँगसम्मको खेल कुर्नु पर्ने भएको छ। तर, यो खेल लिगकै अन्तिम खेल भएको हुँदा शायद ललितपुरको लागि केही सजिलो पनि हुन सक्छ।

किनभने यति समयमा केही नतिजा ललितपुरको तर्फ आएमा टोलीको लागि दबाब हुनेछैन। यदि झापा र बुटवलले जितेर आएमा भने ललितपुरको लागि जित्नु पर्ने दवाव समेत हुनसक्नेछ। ललितपुरसँग ७ खेलबाट १० अंक छ। काठमाडौंसँग पनि ९ अंक छ तर, ६ खेल मात्रै खेलेको छ।
यसपछिको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो। खेल बराबरीतिर लम्किरहेको अवस्थामा अन्तिममा इन्जुरी समयको सदुपयोग पोखराले गरेको थियो । मोजेस ट्वुमले दायाँ डि क्षेत्रतर्फबाट गरेको प्रहार गोल भएको थियो।

यो जितले पोखरालाई शीर्ष स्थानमा पुर्‍याउनुको साथै प्लेअफमा समेत छनोट गरायो। पोखराको ७ खेलबाट १४ अंक छ। अरु खेलका नतिजाले कुनै फरक नपार्ने भएपछि पोखरा प्लेअफमा पुगेको हो।

यो हारले बुटवलको लागि प्लेअफमा पुग्ने संभावना झिनो बनेको छ। यदि काठमाडौंले दुबै खेल हारेर र झापाले पनि दुबै खेलमा बराबरी वा हारेमा मात्रै बुटवलले प्लेअफको संभावना जिवित राख्न सकिन्छ। बुटवलको अन्तिम खेल वीरगन्ज युनाइटेडसँग छ।

आज झापा र धनगढीबीच खेल हुनेछ। यो खेलमा झापा जितेमा ७ खेलबाट १० अंक हुनेछ भने धनगढीको ७ खेलबाट १२ अंक नै हु्नेछ। तर, धनगढीले यो खेल बराबरी मात्रै खेले पनि पुग्छ।

बराबरीमै धनगढीको १३ अंक बन्छ भने उति अंक नै प्लेअफमा पुग्नको लागि पर्याप्त पनि छ।

प्रतिक्रिया दिनुहोस्