एनसेल सेयर खरिद-बिक्री अस्वाभाविक देखेरै छानबिन समिति बनेको हो : प्रधानमन्त्री

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा कहीँ कतैबाट कानुनविपरीतका कामकारबाही भएको पाइए कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबारको संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताए। उनले एनसेल प्रकरण गलत छ भन्ने लागेको भएर नै छानबिन समिति बनाएको प्रस्ट पारे।

‘यो सहज छैन। स्वाभाविक छैन’, उनले भने, ‘यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नुपरेको हो। यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो।’

आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए।

“यो घटना हुँदा म विदेशमा थिएँ । मैले दुबईमा सुनेँ र स्वदेश फर्किएर पहिलो काम सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएँ,” प्रधानमन्त्रीले भने ।

एनसेलबारे अध्ययन गर्न गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। ५ सदस्यीय अध्ययन तथा छानविन समितिले एक महिनाको कार्यावधि पाएको छ।