आईपीएल अक्सन आज

0
Shares

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सन आज युएईको दुबईमा हुँदै छ। आइपिएल अक्सन नेपाली समय अनुसार दिउँसो १:१५ बजेदेखि शुरु हुने छ भने यसको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा हुने बताइएको छ।

आज हुने आइपिएलको मिनी अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले जानकारी दिएको छ। जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन्।

यस अक्सनबाट कुल ७७ खेलाडी बिक्री हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ। आईपीएल फ्रेन्चाईजीले कम्तीमा १८ र बढीमा २५ खेलाडी टिममा समावेश गर्न सक्ने नियम रहेको छ, जसमा विदेशी खेलाडी बढीमा ८ जनासम्म राख्न पाउँछन् ।

यस अक्सनमा सबैभन्दा बढी कोलकोता नाइट राइडर्सको ४ विदेशी खेलाडीसहित १२ खेलाडी स्लट खाली रहेको छ। त्यस्तै दिल्ली क्यापिटल्सको ४ विदेशीसहित ९, गुजरात टाइटन्स, मुम्बई इण्डियन्स, पञ्जाव किंग्स र राजस्थान रोयल्सको ८-८ खेलाडीको स्लट बाँकी रहेको छ।

त्यस्तै चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको ६-६ खेलाडीको स्लट बाँकी रहेको छ।त्यसैगरी खेलाडी किन्न सबै भन्दा बढी रकम भने गुजरात टाइटन्ससँग ३८.१५ करोड भारु रहेको छ।

त्यस्तै सनराइजर्स हैदरावादसँग ३४ र कोलकोतासँग ३२.७ करोड भारु रहेको छ । सबैभन्दा कम भने लखनउसँग १३.१५ करोड भारु रहेको छ। यस अक्सनमा विश्व क्रिकेटका केहि ठुला नाम भने रहेका छैनन् ।

जसमा इङल्याण्डका बेन स्टोक, जो रूट र जोफ्रा आर्चर, त्यस्तै बंगलादेशका शकिब अल हसन पनि यस आइपीएल अक्सनमा रहेका छैनन् । त्यस्तै हालै सम्पन्न क्रिकेट विश्वकपबाट उदाएका न्यूजील्याण्डका भारतीय मुलका अलराउण्डर रचिन रविन्द्र यस अक्सनका मुख्य आकर्षण बन्ने देखिएको छ।

उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ। यस अक्सनका लागि २३ खेलाडीले अक्सनको उच्च मूल्य २ करोड आफ्नो न्यूनतम मूल्य तोकेका छन् । जसमा अस्ट्रेलियाका मिचेल स्टार्क, ट्राभिस हेड, भारतका बलर उमेस यादव र श्रदुल ठाकुर प्रमुख रहेका छन्।

त्यस्तै १३ खेलाडीले आफ्नो न्यूनतम मूल्य १.५ करोड तोकेका छन्। बिसीसीआईले जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश गरिएको छैन।

यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन्। अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन्।