राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने छ। पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार गत पुस १ गते देखी जारी केन्द्रीय समिति बैठकमा विभिन्न प्रतिवेदन माथिको छलफल सकिए पनि आज निर्णय लिनुपर्ने भएकाले बैठक बस्न लागेको हो।

सोमबारको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले पेस गरेको सचिवालय सम्बन्धी प्रतिवेदन माथी सामूहिक छलफल भएको थियो।

सोमबारको बैठकमा  प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सातवटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सो समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेस भएको जनाउँदै प्रचार विभाग प्रमुख श्रेष्ठले समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए।

आजको बैठक भने बिहान साढे १० बजे सुरु हुने र विभिन्न निर्णय गर्दै बैठक समापन हुने श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्