एमालेविरुद्ध हिंसात्मक गतिविधि गर्नेको रहस्यमय हरकत नियालेका छौँ : ईश्वर पोखरेल 

0
Shares

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले निरन्तर देश र जनताको पक्षमा समर्पण भावका साथ जुटिरहने बताएका छन्।
मङ्सिर १४ देखि सुरु भएको समृद्धिका लागि झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्रा समापन भए पनि एमालेको अभियान जारी रहने उनले प्रतिक्रिया दिए।

‘अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुङ्गिएको हो, तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको सङ्कल्प र योजना भने जारी रहनेछ, हामी जनताका बिचमा पुगिरहनेछौँ, जनतासितको सम्बन्धलाई गाढा बनाइरहनेछौँ’, उनले भने।

यात्राको क्रममा एमाले प्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेका हरकत पनि राम्रोसँग नियालेको पोखरेलको भनाइ थियो।

‘एमालेले संविधानसम्मत, शान्तिपूर्ण तरिकाले, सिङ्गो मुलुक र आमजनताले भोगिरहेका, अनुभूत गरिरहेका विषयमा केन्द्रित रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ’, पोखरेलले भने।

सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने, जनताका बिचमा द्वेष भाव फैलाउन चाहने, मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिलाई यस बिचमा नियाल्ने मौका पाएको उनले बताए।

एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहने उनले प्रस्ट पारे। ‘कुनै पनि विषाक्त  तथा मुलुक र नेपाली जनताको हित विपरीतका विचार गतिविधिका विरुद्ध एमाले चट्टानी ढङ्गले उभिइरहने छ’, पोखरेलले दृढता व्यक्त गरे ।

प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारण स्पष्टसँग खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र सङ्गठित गर्दै समाधानका लागि भूमिका खेलिरहने उनले प्रतिबद्धता व्यक्त गरे।

‘यात्रा अवधिमा र चिवाभन्ज्याङमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही सङ्कल्पलाई दोहोर्‍याएको छ, यस यात्राको अवधिमा प्राप्त भएका विष र एमालेको सङ्कल्पलाई हामी छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने छौँ’, उनले भने।

यात्राको क्रममा एमालेप्रति देखिएको जनताको रुचि, माया, सद्भाव र समर्थनप्रति उनले आभार व्यक्त गरे। लाखौँ जनता स्वतः परिचालित भएर एमालेको अभियानमा सामेल भएर सिङ्गो एमाले पङ्क्तिलाई ऊर्जा र शक्ति प्रदान गरेको उनले बताए।