सांसदहरूको टोली चीन प्रस्थान



काठमाडौं ।

संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२:५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो।

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन्।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ।

नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन्।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् । १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्