कुवेतका अमिरको निधनमा सरकारले आज शोक मनाउने



काठमाडौं ।

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले आज (सोमबार) शोक मनाउने भएको छ। आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाइने जनाएको हो।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय  झण्डा आधा झुकाउने निर्णय गरेको छ। कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो।

“मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते (सन् २०२३ डिसेम्बर १६ ) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने” नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्